Logo

कागेश्वरी मनोहराले सूक्ष्म निगरानी राख्दै



काठमाडौ, १६ चैत्र । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न छ दिनदेखि लकडाउन गरेपछि कागेश्वरी मनोहरा नगरपालिकाले हालै विदेशबाट आई नगर क्षेत्रमा बस्नेको सूक्ष्म निगरानी गरिरहेको जनाएको छ ।

विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि नेपाल आई नगर क्षेत्रमा बसोबास गर्नेका कारण जोखिममा परियो भन्दै स्थानीयवासीले नगरपालिकामा फोनबाट खबर गरेरपछि वडा कार्यालयलाई सूक्ष्म रुपमा निगरानीका लागि निर्देशन दिइएको नगर प्रमुख कृष्णहरि थापाले जानकारी दिए । “लकडाउनका कारण मजदुरी गरी जीवनयापन गर्नेका लागि नगरपालिकाले रु २५ लाखको कोष खडा गरी जनसङ्ख्याका आधारमा प्रत्येक वडालाई रु ७१ हजारदेखि रु छ लाख ९७ हजारसम्म वितरण गरेको छ, यस्ता वर्गका परिवारको पहिचान गरी प्रतिव्यक्ति रु एक हजार वितरण शुरु गरिएको छ”, उनले भने ।

वडा वडामा पठाइएको यो रकमले वडा कोष स्थापना भएको छ । नगरपालिकाको मूलपानीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई २४सै घण्टा खुला राखी कोरोनाको लक्षण देखिएकालाई एकान्तवासमा बसाएर उपचारको प्रक्रिया शुरु गर्ने गरी दुईजना चिकित्सकको व्यवस्था गरिएको नगर प्रमुख थापाले सुनाए । केन्द्रमा तीन वटा एकान्तवासका श्ययाको व्यवस्था गरिएको छ ।

मूलपानीमा रहेको क्रिकेट मैदानमा केन्द्रीय सरकारले नै क्वारेन्टाइन बनाउन प्रस्ताव गरेकाले नगरपालिकाले सहयोग गर्ने भएको छ । यसैगरी नगरपालिका–२ आलापोटमा रहेको स्वास्थ्य चौकीमा पनि सात वटा क्वारेन्टाइन राख्ने गरी तयारी गरिएको छ ।

नगरपालिका–९ मा रहेको गान्धी तुलसी सामुदायिक अस्पतालमा पनि आठ श्ययासम्मको क्वारेन्टाइन राख्ने गरी तयारी भइरहेको छ । नगर क्षेत्रमा रहेका नौ वटै स्वास्थ्य केन्द्रलाई मौसमी फ्लुलगायत रोगका बिरामीको उपचारका लागि नियमित रुपमा सेवा दिन पनि स्वास्थ्यकर्मीलाई निर्देशन दिइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका बढी भीडभाड हुने स्थानमा दैनिक क्लोरिन छर्किएको, खाद्यान्न, ग्यास, पानीलगायत अत्यावश्यक सामग्री निर्वाध बिक्री वितरणका लागि नेपाल प्रहरीलाई सहयोग गर्न नगर प्रहरीसमेत खटाइएको छ । कालोबजारी, कृत्रिम अभाव र मूल्य वृद्धि नियन्त्रणका लागि पनि सरोकार भएका निकायलाई निर्देशन दिई अनुगमन गरिएको नगर उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले बताए ।

खाद्यान्न, ग्यास, पानीलगायत राख्ने पसल दिनमा दुई पटक अनिवार्य रुपमा खोल्न पनि निर्देशन दिई नेपाल प्रहरी र नगर प्रहरीले दैनिक अनुगमन गरिरहेका छन् । अत्यावश्यक सेवामा खटिने प्रहरी, स्वास्थ्यकर्मी, नगर प्रहरीलगायत कर्मचारीलाई मास्क, पञ्जालगायत सुरक्षा सामग्री वितरण गरिएको छ । Photo: facebook

रासस



प्रतिक्रिया दिनुहोस्