Logo

अलपत्र श्रमिकको उद्दार



सप्तरी, १६ चैत्र । सप्तरीको पूर्व–पश्चिम राजमार्गको विभिन्न ठाउँमा अलपत्र परेका श्रमिकको उद्दार गरिएको छ । सरकारले गरेको ‘लकडाउन’का कारण विभिन्न कारखानामा काम गर्ने ५० जना श्रमिकको सप्तरीबाट उद्दार गरी आ–आफ्नो घर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाई जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गएको मङ्गलबारदेखि देशैभरि लकडाउन गरेपछि खाद्यान्न तथा यातायात नपाउँदा श्रमिक अलपत्र परेका थिए । मोरङ, सुनसरी र सप्तरीको विभिन्न कारखानामा कार्यरत मजदुर यातायात नपाउँदा घरका लागि पैदल नै हिँडेका थिए । उनीहरुलाई प्रहरीले विभिन्न स्थानीय तहसँग समन्वय गरी उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सडकमा पैदल हिँडिरहेका श्रमिकलाई नास्ता खुवाई सर्लाहीको लालबन्दीसम्म पठाइएको जिप्रकाका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । प्रनाउ भारतीका अनुसार उद्दार गरिएका सर्लाहीका ३८, रौतहट, बारा र सिरहाका चार÷चारजना श्रमिकलाई आ–आफ्नो गृह जिल्ला पठाइएको हो ।

सरकारले ‘लकडाउन’ गरेपछि र कारखाना बन्द भएपछि खाद्यान्न अभावमा समस्यामा परेर घरका लागि पैदल नै हिँडेका श्रमिकलाई सडकमा फेला पारेपछि कञ्चनरुप नगरपालिका र रुपनी गाउँपालिकासँग समन्वय गरी सम्बन्धित ठाउँमा पठाउन पहल गरिएको बताए । गृह मन्त्रालयको आदेशमा ना१क ६२६७ नं टिपरलाई पास उपलब्ध गराएर श्रमिकलाई सर्लाहीको लालबन्दी जानका लागि अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए। Photo: Googlepokhara

रासस



प्रतिक्रिया दिनुहोस्