Logo

डाक्टरसाबहरु के उपचार गर्ने आफै उपचार गर्नुहोस् भन्नुहुन्छ



कोरोना संक्रमित युवकः म दुबईबाट दिल्ली हुँदै नेपाल आएको हुँ । दिल्लीमा ६ घण्टा ट्रान्जिट थियो । दिल्लीबाट काठमाडौं आएको हो । म आफै सेती अञ्चल अस्पताल गत बिहीबार आएको हुँ । हल्का खोकी टाउको दुख्ने भएपछि म सेती अञ्चल अस्पताल धनगढी आएको हुँ । यहाँ डाक्टरहरुले तपाईं कुन देशबाट आउनुभएको भन्दा मैले दुबईबाट आएको भनेँ । अनि डाक्टरसा’बहरुले तपाई अब १४ दिन यहीं बस्नुपर्छ । यहाँ तपाईंको टेष्ट गरिन्छ भन्नुभयो । हुन्छ भनेर बसेँ । परीक्षण गरेर रिपोर्ट आउँदा तपाईंको कोरोना पोजेटिभ देखाएको छ भन्नुभयो ।

म दुबईमा काम गर्छु । आउनुअघि कोठामा साथीहरुसँग मात्रै भेट भएको छ । त्यहाँ पनि प्रकोप त छ, उहाँ भएका साथीहरुले पनि चेकअप गर्नुभयो । उहाँहरुलाई नर्मल नै छ ।

म काठमाडौं आउँदा मेरो भाइ मामाको छोरासँग भेट भयो । उहाँ पनि अहिले क्वारेन्टाइनमा बस्नुभएको छ । अनि मेरो परिवार पनि क्वारेन्टाइनमा छ । बाहिरका मान्छेसँग खासै भेट भएन । काठमाडौंमा मामा घरमा बसेको हो । मामाहरु पनि काठमाडौंमा क्वारेन्टाइनमा बसिरहेका छन् । अनि यता धनगढीमा परिवारसँग भेटघाट खानपान भएको हो । बाटोमा आउँदा पनि केही साथीभाइहरुसँग हाइहेलो त भयो ।

म बुद्ध एयरलाइन्सबाट नेपालगन्ज हुँदै म धनगढी आइपुगेको हुँ । म दुबईबाट दिल्ली हुँदै काठमाडौं पुगेको प्लेनमा त धेरै जना थिए । तर प्लेनमा कोहीसँग पनि त्यस्तो कुराकानी भएन । मेरो सिटमा बस्ने सँगै कुराकानी गर्ने एकजना साथी हुनुहुन्थ्यो । उहाँ पनि अहिले क्वारेन्टाइनमा बसिरहनुभएको छ ।

मसँग सम्पर्क भएको एकजना मात्रै साथी हो । ऊ मेरो साइटमा थियो । अहिले उहाँलगायतका उहाँका परिवारहरु क्वारेन्टाइनमा बसिरहेका छन् । विमानमा त पुरै यात्रुहरु थिए । तर, अरुसँग मेरो कुनै सम्पर्क थिएन । अरुसँग कुनै कुराकानी भएन । उहाँहरु सबै इण्डियनहरु हुनुहुन्थ्यो । त्यसैले पनि त्यस्तो कुराकानी भएन ।

काठमाडौं ओर्लिएपछि भाइलाई बोलाएँ । उसको बाइक लिएर आएको थियो त्यसैमा गएँ । भाइलाई बोलाएर मोटरसाइकलमा मामाको घरसम्म गएको हो ।

मामाघरमा एक रात बसेँ अनि भोलिपल्ट एयरपोर्ट गएँ । नेपालगन्ज एयरपोर्टमा म जाँदा भीडभाड थिएन ।

मलाई कोरोना भाइरसको संक्रमण भएको यहाँ डाक्टरसाब भन्दाखेरी मात्रै थाहा भयो । जस्तो म शनिबार बेलुका घरमा पुगेको हुँ । त्यतिबेला बेलुका ६ बजेको थियो । अनि आइतबार मलाई हल्का ज्वरो आएको थियो । अनि फेरि मलाई केही ठिक भयो । त्यति हुँदा पनि म मंगलबार आफै हस्पिटल आएँ । त्यति बेला हल्का खोकी लागिरहेको थियो । त्यसपछि अस्पतालमा डाक्टरलाई चेक गराएँ । मेरो छातिको एक्सरे भयो । ब्लड, पिसाब चेक गर्दाखेरी त्यस्तो केही छैन राम्रो छ रिपोर्ट भनियो । घाँटीको खकार लिनुभयो त्यसको परिपोर्ट आउँन चाहिं दुई-तीन दिन लाग्छ भन्नुभयो । त्यतिन्जेलको लागि तपाईंं यही क्वारेन्टाइनमा बस्नुपर्छ भन्नुभयो । पछि रिपोर्ट आउँदा पोजेटिभ देखियो ।

म सेती अस्पतालमा छु । उपचारको लागि यहाँ कुनै मेसिनहरु नै छैन । डाक्टरहरुको लागि पनि जचाउन आउने माक्स, पीपीई, चस्माहरु केही छैन । उहाँहरु मेरो नजिक आउनै डर मान्नुहुन्छ । उहाँहरु आफ्नो ज्यान जोखिममा राखेर कसरी आउनुहुन्छ ? मलाई एउटा ठाउँमा राखिएको छ । टाढैबाट सोध्नुहुन्छ ठिक छ भनेर अनि म भन्छु ‘मलाई मेडिसिनहरु केही दिएको छैन’ भन्छु । अनि उहाँहरु ‘तिमीलाई केही भएकै छैन’ भन्नुहुन्छ । अरु केही भएकै छैन के को मेडिसिन दिनु भन्नुहुन्छ ठीकै हो ।

मलाई अहिले त्यस्तो कुनै समस्या नै छैन । ज्वरो, रुघाखोकी केही छैन । हल्का खोक्ने पहिलादेखिको ह्याबिट हो । घाँटी समाए जस्तो हुन्थ्यो पहिलादेखि नै मेरो । औषधि नभए पनि कुनै बेला आएर के छ कसो छ भने त एउटा हौसलासम्म हुन्थ्यो । अब एउटा कोठामा राखिदिएको छ । डाक्टरहरु कतिबेला आउनु हुन्छ, जानु हुन्छ थाहै हुँदैन । उहाँहरु भन्नुहुन्छ हामीहरु गरिराखेका छौं भनेर । गर्नुभएको छ या छैन त्यो मलाई थाहा छैन । हेरबिचारै नगरेपछि मलाई के थाहा मलाई केही गरेकै छैन भन्ने लाग्छ ।

डाक्टरसाबहरुले उपचार गर्नेभन्दा पनि उहाँहरुको लागि पनि केही छैन सामाग्रीहरु । हामीसँग केही सामाग्री नै छैन, हामी के उपचार गर्नु अब आफै गर्ने हो भन्नुहुन्छ । त्यसको लागि सबै आफैले गरेको छु । तातो पानी तताएर खान्छु, स्याऊ सुन्तलाहरु मगाएर आफैले खाइरहेको छु । परिवारका सदस्यहरु सबै क्वारेन्टाइनमै छन् । मेरो रिलेटिभहरु खाना लिएर आइदिन्छन् । अनि राखेर गइहाल्छन् ।

तपाईंहरुलाई आफ्नो जीवन रक्षाको लागि सरकारले लगाएको लकडाउनको राम्रो पालना गर्नुहोला । कसैले शंका लागेको छ स्वास्थ्यचौकी गएर चेक गर्नुहोला । त्यसपछि सबैलाई होम क्वारेन्टाइनमा बस्दिनुहोला ।

म सञ्चै छु । कतारबाट आउँदा पनि म यस्तै थिएँ । अहिले पनि उस्तै छु । त्यो बेला र अहिले केही फरक छैन । म सबैलाई भन्न चाहन्छु मलाई कोरोना लागेको छ । तपार्इंंहरु पनि परीक्षण गर्नुहोला आफ्नो रोग नलुकाउनु होला । यो रोग निको हुन्छ । लुकाउनु, डराउन, आत्तिनुपर्ने केही छैन ।- सेती अस्पतालमा उपचाररत ३४ वर्षीय युवकसँग ऋषि धमलाले गरेको कुराकानीमा आधारित, उनको नाम गोप्य राखिएको छ



प्रतिक्रिया दिनुहोस्