Logo

चैत मसान्तभित्र बैँकलाई तिर्नुपर्ने साँवा–व्याज असार मसान्तसम्म तिर्न पाइने



चैत १६, काठमाण्डौ । चैत मसान्तभित्र बैंकलाई तिर्नुपर्ने साँवाब्याज (किस्ता) भुक्तानीका लागि ग्राहकले तीन महिना समय पाएका छन् । यसअनुसार चैतसम्म तिर्नुपर्ने किस्ता रकम आउँदो असारसम्म तिरे अतिरिक्त शुल्क लाग्दैन ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै नेपाल राष्ट्र बैंकले सहुलियत घोषणा गरेको हो । महामारीका कारण उत्पन्न असहज परिस्थितिबाट प्रभावित पर्यटन, उद्योग, व्यवसाय तथा वित्तीय क्षेत्रका लागि राष्ट्र बैंकले घोषणा गरेको विशेष प्याकेजमार्फत ग्राहकले यस्तो सुविधा पाएका हुन् ।

‘०७६ चैतमा असुल गनुपर्ने मासिक, त्रैमासिक किस्ताको भुक्तानी ०७७ असारसम्म हुने व्यवस्था मिलाउनुपर्नेछ,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ । सो किस्ताको हकमा कुनै किसिमको थप शुल्क वा हर्जाना लिन नपाइने पनि राष्ट्र बैंकले प्रस्ट्याएको छ । यस्तै कर्जा असुल नभएको हकमा बैंकले सो कर्जालाई खराब कर्जामा राख्नु नपर्ने सुविधा पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको छ ।

यदि कसैले चैत महिनामा नै तिर्न चाहे उनीहरुले तिर्नुपर्ने ब्याजमा १० प्रतिशत छुट पाउनेछन् । राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरुको पहिचान गरी ती क्षेत्रहरुका लागि पुनः विशेष प्याकेज ल्याउन सक्ने पनि बताएको छ । साथै, पुर्नकर्जा कोष ६० अर्बको पुर्‍याउने र पुनर्कर्जा सुविधा बढाउने पनि राष्ट्र बैंक जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले अब ३ प्रतिशत मात्र अनिवार्य नगद मौज्दात (सीआरआर) कायम गरे पुग्ने भएको छ । यसअघि ४ प्रतिशत सीआरआर राख्नुपर्ने निर्देशन थियो । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट ऋण लिन पाउने कर्जाको ब्याजदर (बैंक दर) पनि घटाएर ५ प्रतिशत बनाइएको छ । यसअघि ६ प्रतिशत थियो ।

बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्वमा खर्च गर्नु पर्ने रकम नेपाल सरकार तथा प्रदेश सरकारको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा खर्च गर्न पाउने राष्ट्र बैंकले बताएको छ ।

हेर्नुहोस राष्ट्रबैँकले सार्वजनिक गरेको प्याकेज



प्रतिक्रिया दिनुहोस्