Logo

विश्वविद्यालयले स्रोत साधन उपलब्ध गराउने



काठमाडौँ, १७ चैत । कोरोना भाइरसको बढ्दो सङ्क्रमणमा सरकारको अभियानमा सघाउन त्रिभुवन विश्वविद्यालयले आफ्नो स्रोत साधन उपलब्ध गराउने भएको छ ।

विश्वविद्यालयका रिक्त भवन, तीन हजार रोपनीभन्दा बढी खुला जग्गा तथा अन्य स्रोत साधन आवश्यकता अनुसार उपलब्ध गराउन आफूहरू तयार रहेको विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले जानकारी दिएकाा छन् । सरकारका जिम्मेवार अधिकारीलाई यस बारेमा जानकारी गराइएको उनले बताएका छन् ।
खाली जग्गा उपयोग गर्न सुझाव
विश्वविद्यालयका उपकुलपति बाँस्कोटाले सबै तहका सरकारले विश्वविद्यालयको संरचना आवश्यकता अनुसार प्रयोग गर्न सकिने सुझाएका छन् । विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय विभाग, कार्यालयका साथै खुला चउर उपयोग गर्न आफूले प्रस्ताव गरेको उनको भनाइ छ ।

उपकुलपति बाँस्कोटाले सङ्क्रमितको सङ्ख्या बढेको अवस्थामा खुला चउरमा टेन्ट हालेर पनि बिरामीको उपचार गर्न सकिन्छ, यो अवस्थामा विश्वविद्यालयको खुला परिसर उपयोग हुन सक्ने कुरा बताए । कीर्तिपुरको बाक्लो बस्तीमा उपचार गर्न समस्या हुने र सङ्क्रमणको जोखिमसमेत हुने भएकाले खुला परिसर उपयुक्त हुने उनको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय परिसर कीर्तिपुुरमा विश्वविद्यालयको नाममा तीन हजार रोपनीभन्दा बढी खुला स्थान रहेको जनाइएको छ ।

विज्ञान भवन उपलब्ध
यसैबीच विश्वविद्यालयले कीर्तिपुर नगरपालिकालाई कोरोना सङ्क्रमणको उपचारमा सघाउन आइसोलेसन कक्ष बनाउन विश्वविद्यालयको ‘विज्ञान भवन’ उपलब्ध गराएको छ । कीर्तिपुर परिसरमा रहेको सो भवन हाल प्रयोगविहीन अवस्थामा थियो । चिकित्सा शास्त्रमा अध्ययन गर्ने विद्यार्थीलाई भनेर बनाइएको सो भवन कीर्तिपुरमा बनाइए पनि प्रयोग हुन सकेको थिएन ।
नगरपालिकाको आग्रहमा कोरोना भाइरस सङ्क्रमणमा परेका बिरामीको उपचारका लागि आफूहरूले भवन उपलब्ध गराएको जनाइएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्