सरकारले स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षालाई केन्द्रविन्दूमा राख्नुपर्दछ : नेपाल (भिडियोसहित)


काठमाडौं, १७ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोरोना भाइरसबारे जनचेतना फैलाउनुपर्ने बताएका छन् । सोमबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,”यो रोगको बारेमा सबैले आ आफ्नो ठाउँबाट जनचेतना फैलाउनुपर्छ । यो रोगसँग लड्ने आत्मविश्वास बढाउनुपर्छ । गलत सुचना प्रवाह नहोस् । त्रास र आतंक पैदा नहोस् । प्रत्येक नागरिक आत्मसंयमित हुनुपर्छ । आफूले त्यसमा सतर्कता अपनाउन सक्नुपर्दछ । राज्यले यो कार्यमा जुटेका स्वास्थ्यकर्मीहरुको स्वास्थ्य सुरक्षालाई केन्द्रविन्दुमा राख्नुपर्दछ ।सुरक्षाकर्मी, सञ्चारकर्मीहरुको सुरक्षा गर्नुपर्छ । जो फ्रन्टलाईनमा उभिनेहरुको लागि सरकारले विशेष सुरक्षा व्यवस्था गर्नुपर्छ ।”

सरकारले ७ वटै प्रदेशमा प्रयोगशाला बनाउनुपर्नेमा पनि नेता नेपालले जोड दिए । संक्रमणका सम्भावना भएको ठाउँमा सरकारले विशेष निगरानी गर्नुपर्ने उनले स्पष्ट पारे । उनले भने,”सरकारको सम्पर्कमा आएकाहरुको लागि स्वास्थ्य परीक्षण गर्नुपर्छ ।”