Logo

डेराबाटै निकालिइन् नर्स



दाङ, चैत १८ । कोरोना संक्रमण हुन सक्ने भन्दै घोराहीमा डेरा गरि बस्दै आएकी एक नर्सलाई डेराबाट निकालिएको छ। घोराहीस्थित बुद्ध ईन्टरनेशनलमा कार्यरत स्टाफ नर्स सृजना खड्कालाई उनका घरबेटीले कोरोना संक्रमण हुन सक्ने भन्दै डेराबाट निकालिदिएका हुन्।

खड्काका घरबेटी घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा सचिव नारायण आचार्य हुन्। स्टाफ नर्स खड्का गत मंसिरदेखि आचार्यको घरमा डेरा गरि बस्दै आएकी थिइन्। गत १५ गते डेराबाट निकालिएकी नर्स खड्का अहिले घोराहीस्थित एक होटेलमा बस्दै आएकी छिन्।

‘तिम्रो कारण कोरोना संक्रमण हुने खतरा भयो भनेर उहाँहरुले मलाई भन्नु भयो,’ उनले भनिन् ‘मैले आँफू सुरक्षित रहेर काम गरिरहेकाले कुनै डर नहुने भन्दै सम्झाएँ , तर पनि मान्नु भएन।’ अस्पतालमा धेरै बिरामीहरुसंग सम्पर्क हुने भएकाले खड्काका कारण आँफूहरु असुरक्षित रहने भन्दै घरबेटीले कोठा छोड्न दबाब दिएका थिए। ‘कित अस्पताल नजाउ, कि भने तिम्रा लागि सधैँका लागि गेट बन्द हुन्छ भन्नु भयो,’ उनले भनिन् ‘अस्पतालले बिदा दिने कुरै भएन, अनि कोठा छोड्न बाध्य भएँ।’

यता घरबेटी आचार्यले भने आँफूले पेशासंग जोडेर कोठा छाड्न नभनेको वताए। खड्का लगाएत कोठामा तीनजना बस्दै आएको र कोठा सानो भएकाले अर्को कोठाको व्यवस्थापन गर्न भनेको आचार्यले वताए। ‘मैले पेशासंग जोडेर कोठा छोड्न भनेको हैन,सानो कोठा भयो अर्को कोठाको व्यवस्थापन गर्नु भनेर भनेको हुँ,’ उनले भने ‘म सरकारी मान्छे त्यसरी भन्ने कुरै भएन।’

नर्स खड्काका अनुसार उक्त कोठामा खड्काकी एकजना साथी र ति साथीका दाजु बस्दै आएका थिए। सुरुमा उक्त कोठामा खड्काकी साथी बस्दै आएकी थिइन्। उनै साथीले घरबेटीसंग सल्लाह गरेर खड्कालाई पनि आफ्नो कोठामा बस्न भनेपछि खड्का गत मंसिरमा त्यहाँ गएकी थिइन्।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्