Logo

लकडाउनका कारण मिर्गौलाका बिरामी मारमा



दमौली, १८ चै : कोभिड–१९ को जोखिम कम गर्ने उद्देश्यले लकडाउन लागू भएपछि तनहुँमा मिर्गौलाका बिरामी मारमा परेका छन् । नियमित डायलोसिस गर्नुपर्ने बिरामी लकडाउनका कारण सवारी सञ्चालन नभएपछि चिन्तामा परेका हुन् ।

दमौली अस्पतालमा रहेको शत्रुधन मन्जु डायलोसिस केन्द्रमा डायलासिस गर्नका लागि बिरामीलाई एम्बुलेन्स रिजर्भ गरेर आउनुपर्ने बाध्यता छ । लकडाउनको कारण सवारी साधन नचलेपछि एम्बुलेन्स भाडामा लिएर डायलोसिस गर्न आउनुपरेको व्यास नगरपालिका–६ सिसाघाटका देवबहादुर गुरुङले गुनासो गरे । सामान्यावस्थामा रु ३० देखि ५० भाडा तिरेर दमौली आउने गरे पनि अहिले एम्बुलेन्स भाडामा लिँदा रु एक हजारदेखि एक हजार पन्ध्रसम्म खर्च हुने गरेको उनको भनाइ छ ।

“सवारी साधन नचलेपछि महँगो भाडा तिरेरै भए पनि डायलोसिस गराउन जानैप¥यो,” उनले भने, “आफ्नै मोटरसाइकल पनि थियो तर लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लियो ।” उनले हप्तामा दुई पटक डायलोसिस गरिरहेका छन् ।

सवारी साधन नचलेपछि मालवाहक ट्रक चढेर डायलोसिस गराउन आउने गरेको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका अनिशा सुवेदीले बताए । “प्रहरीको सहयोगमा ट्रकमा दमौलीसम्म आएर डायलोसिस गराइरहेको छु,” उनले गुनासो गरे, “लकडाउनका कारण डायलोसिस गराउन समस्या परेको छ ।”

म्याग्दे गाउँपालिका–१ गुणादीका दिलशोभा रानाले आफन्तको मोटरसाइकल चढेर डायलोसिस गराउन आउने गरेको बताए । “प्रहरीले रोकेको बेला डायलासिस गराउन आएको हुँ भनेर भनिरहेको छु”, उनले भने ।

मिर्गौलापीडितले नियमित रुपमा डायलोसिस गराउनुपर्ने भएकाले लकडाउनको बेला पनि डायलोसिस गर्ने बिरामीको सङ्ख्या नघटेको डायलोसिस केन्द्रका इञ्चार्ज शैलेश पण्डितले जानकारी दिए । “लकडाउनले बिरामीलाई सास्ती त भएको छ तर नियमित डायलोसिस गराउनुपर्ने भएकाले जसोतसो आइरहेका छन्,” उनले भने ।

विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलोसिस केन्द्र स्थापना भएको थियो । केन्द्रले चार वर्षका अवधिमा २४ हजार ९८६ पटक डायलोसिस सेवा प्रदान गरेको छ । पण्डितका अनुसार केन्द्रबाट हालसम्म २१० मिर्गौलापीडितले डायलोसिस सेवा लिएका छन् । केन्द्रमा नियमित डायलोसिस गराउने मिर्गौलापीडितको सङ्ख्या भने ७२ छ । पण्डितका अनुसार हप्तामा दुई पटक डायलोसिस सेवा लिने मिर्गौला पीडित ६६ र हप्तामा तीन पटक डायलासिस सेवा लिने मिर्गौलापीडित ६ जना छन् । केन्द्रमा डायलासिस गराउने नौ उपकरण छ ।

हेल्थ केयर फाउण्डेशन अफ नेपालले दमौली अस्पतालमा डायलोसिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधनका स्मृतिमा शुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गरेका थिए । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा ६ डायलाइसिस उपकरण जडान गरिएको थियो । पछि तीन उपकरण थप गरिएछि केन्द्रमा हाल नौ डायलोसिस उपकरण छ ।रासस



प्रतिक्रिया दिनुहोस्