Logo

नेपालीहरु देशभित्र छिर्न पाउनुपर्छ-रामेश्वरराय यादव, श्रममन्त्री



काठमाडौं, १८ चैत्र । श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादवले श्रमिक र ज्यालादार मजदूरलाई राहतमा सरकार लागिसकेको बताएका छन् । रोजगारी या अन्य कामको सिलसिलामा विदेश गएका नेपालीहरुलाई सुरक्षितसाथ बस्न समेत भनेका छन् । मन्त्री यादवसँग यही विषयमा ऋषि धमलासँग गरेको कुराकानीः
जनताहरु घरमा बसेका छन्, तर राहत खोइ त ?
राहत पनि भइरहेको छ ।
कतिपय ठाउँबाट जनताले लकडाउनमा खान पाएका छैनन् भन्ने सूचनाहरु आइरहेकमा छन् नि ?
हिजो बसेको क्याबिनेटबाट सबै कुराको व्यवस्थापन भएको छ । यसको बारेमा स्थानीय निकायलाई नै सबै जिम्मेवारीहरु दिइएको छ । प्रदेश सरकारको को–अडिनेसनमा स्थानीय सरकारले सम्पूर्ण व्यवस्थापन गर्ने छ । त्यसलाई संघीय सरकारले वाच गरिराखेको हुन्छ । उनीहरुलाई नपुग भएको संघीय सरकारले परिपूर्ति गर्ने गरी व्यवस्थापन भएको छ । सबैतिर निर्देशन भइसकेको छ ।
निर्देशन त भयो तर स्थानीय जनप्रतिनिधिहरुले पनि काम गरेका छैनन्, श्रमिक, मज्दूरहरुलाई राहतको प्याकेज पुगेन नि ?
धेरै ठाउँमा पुगिरहेको छ । कतिपय ठाउँमा पुग्दै छ ।
लक्षित समुदायले राहत पाउँछन् भन्नेमा विश्वस्त हुनुहुन्छ ?
एउटा कुरा के बुझ्नुस् भने, ‘नेपालमा खानै नपाएर कोही पनि मर्दैनन्’ ।
तीन दिन भइसक्यो खान नपाएको भनेर मलाई फोन आएको छ ?
त्यस्तो भएको छैन । सबैतिर व्यवस्थापन गर्न त धेरै गाह्रो छ नि । जसरी २०७२ सालमा एकाएक भू–कम्प आएको थियो । त्यसैगरी कोरोना पनि एकाएक आएको हो । यसरी एकाएक आएको विपत्तीलाई व्यवस्थापन गर्न धेरै गाह्रो हुन्छ ।
कोरोना भएको त तीन महिना नाघिसक्यो नि ?
अरु मुलुकमा आयो । हामीकहाँ त सात दिनदेखि कोरोनाको सामना गरिरहेका छौं ।
सात दिनदेखि मुलुकलाई लकडाउन गर्नुभएको छ ?
हामीकोमा मजदूरले मजदूरी गर्न नपाएको जम्मा ७ दिन न भयो । बिहान, बेलुका छाक टार्नको लागि दैनिक काम गर्नुपर्नेको लागि त्यो ७ दिन धेरै हो ।
दैनिक कमाएर छाक टार्नेहरु त धेरै छन् तिनको लागि सम्वोधन गर्नुपर्दैन ?
त्यसैले हिजो चलेको मन्त्रिपरिषद्को पुरै समय खाली दैनिक ज्यालादारी गरेर छाक टार्ने मजदूरहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा बितेको छ । यसमा एउटै मान्छे पनि भोकै मर्नुहुँदैन । कुनै परिवार भोकै रहनुहुँदैन ।
ज्यालादरी मजदूरहरुलाई सरकारले सम्बोधन ग¥यो अब ?
गरेको छ ।
उनीहरुको घरमा रासन पुग्छ ?
उनीहरुको घर–घरमा रासन पुग्छ । उनीहरुको राम्रोसँग व्यवस्थापन पनि हुन्छ । र, उनीहरुको रक्षाको लागि सम्पूर्ण नीतिनिर्माणहरु हामीले गरिरहेका छौं । अब उप्रान्त देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्ने चिन्तन पनि सरकारले लिएरहेको छ । वैदेशिक रोजगारी होइन, स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्छ । तर, त्यो परिस्थिति निर्माण गर्न अहिलेको महामारीबाट हामी जोगिनुप¥यो ।
जसरी सरकारको लडडाउनलाई जनताले सहयोग गरेपछि तपाईंहरुले पनि उनीहरुलाई सम्वोधन गर्नुप¥यो नि ?
यस विषयमा सर्वप्रथम त म सम्पूर्ण नेपाललाई धन्यवाद दिन चाहन्छु । नेपाल सरकारले लिएको निर्णयलाई सम्पूर्ण नेपालीले हृदयदेखि साथ, सहयोग र स्वागत गरेका छन् । यो घडीमा नेपालीहरुले जुन संयमता, इमानदारीता र सरकारको निर्णयप्रति कमिटमेन्ट देखाएका छन् । त्यो हामी, हाम्रो समाज र देशको लागि महत्वपूर्ण कुरा हो ।
तर, सरकारले त जनताको लागि काम गरेको छैन नि ?
अहिले आमनागरिक, श्रम मजदूरको लागि जो दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । उहाँहरुलाई अनुभूति हुने गरी स्थानीय, प्रतिनिधि, स्थानीय प्रशासन, स्थानीय, प्रदेश र संघीय सरकार लागि परेको छ ।
परिणाममुखी भएन नि, जनताले त परिणाम खोजेका छन् ?
यसमा जादुको छडी हुँदैन ऋषिजी । अहिले पुरै लकडाउन भएको बेलामा साधन, स्रोत पु¥याउन पनि गाह्रो हुन्छ । यसका बाबजुद पनि स्थानीय, प्रदेश सरकार परिचालन गरिएको छ । स्रोत, साधनहरु पुगिसकेको छ । अब एक दुई दिनभित्रै सम्पूर्ण ज्यालादारी, मजदूरहरुले आरामसँग आफ्नो चुल्हो बालेर क्वारेनटाइनमा बस्न पाउँछन् ।
संघीय सरकारको निर्देशन मानेर स्थानीय सरकारले काम गर्छ भन्ने विश्वास छ तपाईंहरुलाई ? कतिपय ठाउँमा हामी मान्दैनौं भनेका छन् नि ?
स्थानीय सरकारले त्यस्तो भनेको मैले सुनेको छैन । अहिले स्थानीय सरकार कसैले पनि असहयोग गरेको छैन । उहाँहरु त जनताको बीचमा हुनुहुन्छ । जनताको बीचमा भएको प्रतिनिधिले ‘म गर्दिनँ’ भनेर जनतालाई इन्कार गर्न कसरी सकिन्छ ?
राजनीति मात्रै गरेर हुँदैन, जनतालाई रोजीरोटी पनि दिन सक्नुपर्छ होइन ?
राजनीति भनेको त सामान्य अवस्थामा गर्ने हो । यो संकटको घडीमा कुनै पनि दल, पार्टी, नेताहरुले राजनीति गर्ने होइन । अहिले त मानवीयताको आधार नेपाली मन हुनुपर्छ । नेपाली मन कठोर हुँदैन, दयालु हुन्छ । यही हिसावमा एकले अर्कोलाई करुण, माया, आत्मीयता देखाउँने हो । हरेक नेता, सरकार, मन्त्रीको परीक्षणको घडी पनि यही हो । आपतविपद परेको बेलामा आफ्ना नागरिकलाई समान रुपले हेर्नुभनेको इमानदारीताको प्रतिक पनि हो । अहिलेको सरकार नेपाली नागरिकको लागि इमान्दारीपूर्वक लागिपरेको छ ।
जनताहरुले त कालाबजारीयाहरु सलबलाएर ग्याँस, तेललगायतका खाद्यान्न सही मूल्यमा पाइँदैन भन्छन् नि ?
अहिलेको लकडाउन कुनै पार्टी, समुदायको विरोधमा छैन । यो कुनै आन्दोलनबाट प्रेरित भएको होइन । यो लकडाउन मानव मात्रको रक्षाको लागि गरिएको हो । नेपाल सरकारले जनताको हितमा लिएको निर्णय हो । नेपालमा मात्रै होइन विश्वका सबै सरकारहरुले लकडाउन गरेका छन् ।
सबैले सहयोग त गरेका छन्, सडकमा काम गर्ने, भरिया र मजदूरहरुको पीडा त छ नि ?
उनीहरुलगायत बालबच्चाहरुको पीडा छ, नभएको होइन ।
मजदुरु वर्ग र समुदायको चुल्लो बल्न छोड्यो नि ?
यो सरकार मजदूर र सर्वहारा वर्गको लागि हो ।
हुनेखानेको लागि होइन ?
हुनेखानेको लागि पनि हो । अहिले विशेष परिस्थितिको कुरा गरिरहेका छौं । यो सरकार ती गरीव, निमुखा वर्ग, समुदायको लागि हो । जसले काम गर्न पाएका छैनन् । त्यो बापत उसको चुल्हो बल्दैन । त्यसप्रति पुरै ध्यान केन्द्रित गरेर सरकार अगाडि बढेको छ । यो कठिनाई बापत नेपाल र नेपालीले जित्छांै, कोरोना हार्छ ।
विश्व त्रसित भइरहेको बेलामा कसरी नेपालबाट कोरोनालाई भगाउनुहुन्छ ?
भारतको महाराष्ट्रको कुरा उठाउनुभएको छ । त्यस्तै चाइना जस्तो विकसित देश र अमेरिकालगायत त्यस्ता विकसित देशहरुले गर्न नसकेको काम नेपालले ग¥यो ।
तर अमेरिकी राष्ट्रपतिले त लकडाउन गर्नुभएन नि ?
त्यो नगरेबापतमा उहाँले दुःख पनि त भोगिराख्नुभएको छ नि । आज त्यहाँ कोरोना पीडित डेढलाख हाराहारी पुगिसकेका छन् । तर, अमेरिकाको न्यूयोर्क जस्तो शहर जहाँ दिन र रात छुट्ट्याउन सकिँदैन । त्यहाँको अवस्था आज हेर्नुहोस् एकजना मान्छे बाहिर निस्किँदैन । त्यहाँ किन त्यस्तो भयो भने कोरोना भाइरसलाई जित्नलाई लकडाउन मात्रै एउटा अचुक औषधि हो । लकडाउन जस्तो अचुक बदाई दुनियाँमा कहीं पनि छैन । यसलाई अस्त्र, अर्थ र बलले जित्न सकिँदैन, खाली संयमता र अनुसानले जित्ने हो । यसलाई जित्न उच्च मनोबलका साथ होम आइसुलेसनमा बस्ने हो ।
तपाईं पनि होम क्वारेन्टाइनमा हुनुहुन्छ हो ?
हो, म पनि होम क्वारेन्टाइनमा बसेको छु ।
किन क्वारेन्टाइनमा बस्नुभएको तपाई त जनताबीचमा जानुपर्दैन ?
गइराखेको छु । आवश्यकता प¥यो भने तुरुन्तै जनतामाझ जाने हो ।
सर्लाहीका जनताको पीडा तपाईलाई थाहा छ ?
थाहा छ । सर्लाहीका जनताको हरेक पलपलमा खबर लिइरहेको छु । यहाँबाट निर्देशन र साधन, स्रोतको व्यवस्थापन गरिरहेको छु । तपाईंलाई थाहा छ, मेरो आफ्नै छोरा पनि मेयर छ । उनीहरुले पनि त्यहाँ व्यवस्थापन गरिरहेका छन् ।
नेताहरु त जनताको बीचमा जानुपर्दैन समस्या समाधानको लागि ?
गइराखेका छौं । अहिले मेरो जिम्मेवारी काठमाडौंमा छ । मैले देशभरिको व्यवस्थापन गर्ने कि सर्लाहीको मात्रै गर्ने ?
तपाईंले देशभरिका जनताको व्यवस्थापन गर्ने हो ?
सिंगो नेपालीको लागि गर्ने हो । सिंगै मानवको लागि गर्ने । यतिबेला नेपाल सुरक्षित हुनुभनेको मानव सुरक्षित हुनु हो । त्यसैले अहिलेको परिस्थितिमा हामी जे गरिरहेका छौं ठीक गरिरहेका छौं । नेपाली जनताले पहिलोचोटी सरकारले ठीक ग¥यो भनेर सबैले एकस्वरले साथ दिएका छौं ।
राष्ट्रिय एकता छ, सबैले साथ दिएका छन्, तर सीमाना किन नेपालीहरुले दुःख पाइरहेका छन् मेचीदेखि महाकालीसम्म हेर्नुहोस् त ?
नेपालीहरु नेपाल आउन पाउनुपर्छ । आइपनि राखेका छन् । तर, अहिलेको अवस्थामा जुन विकर्षण लिनुपर्ने हो, त्यो भारतमा बस्ने नेपालीले पनि लिनुपर्छ । र, नेपालमा बस्ने भारतीयले पनि लिनुपर्छ । हामी अहिले नेपाल र भारत भनेर बाँड्दैनौं । एकले अर्कालाई रोग सार्दैनौं । यो बेलामा एकले अर्कालाई माया गर्नुपर्छ । माया गर्नुभनेको आइसुलेसनमा बस्नु हो । जुन नेपालीहरु सीमानामा छन्, उनीहरुलाई पनि नेपाल ल्याएर आइसुलेसनमा राख्नुपर्छ ।
त्यो सम्भावना छ ?
छ ।
उनीहरुलाई नेपाल छिर्न समस्या छैन ?
उनीहरुकै लागि जाँच्नको लागि नेपाली टोलीहरु ठाउँ–ठाउँमा पुगेका छन् । अहिले सातै प्रदेशमा कोरोना भाइरसको जाँच गर्ने मेसिनरी मेकानिजम डेभलप भएको छ । सबै ठाउँमा त्यो जाँच सुरु भइसकेको छ ।
सीमानामा नेपालीहरु कराइरहेका छन् नि ?
जुन नेपालीहरु बाहिर छन् उनीहरु त नियम थाहा छैन नि । उनीहरुलाई जाँच बुझ गरेर बिरामी छन् भने उपचारको लागि पठाउने । अरुलाई जाँचबुझ गरेर आइसुलेसनमा राख्ने भन्ने प्रक्रिया हाम्रो छ । त्यो उनीहरु र उनका आश्रित परिवारको हितको लागि हो नि । ऊ बस्ने समाज र सिंगो देशको लागि पनि हो ।
सीमानामा अलपत्र परेकालाई नेपालमा इन्ट्री छ समस्या छैन ?
समस्या कहाँ छ भने बिना जाचपास भित्रिन पाइँदैन । यो उनीहरुले पनि बुझ्नुपर्ने कुरा हो ।
उनीहरुले त हामी क्वारेन्टाइनमा बस्न तयार छौं भनेका छन् नि ?
नेपालले उनीहरुलाई नल्याउने भनेको छैन । तर, यो विशेष परिस्थितिमा विशेष व्यवस्थापन सरकारले गरेको छ । त्यो रुल्स फलो गर्नुप¥यो । क्वारेन्टाइनमा बस्ने, बिरामी परेमा उपचारमा जाने उसको अनुसासन, नियति सबै हुनुप¥यो ।
विश्वमा धेरै नेपालीहरु छन् उनीहरुलाई त नेपालमा ल्याउन सक्नुहुन्न हो ?
त्यो अहिले सम्भवै छैन ।
ती नेपालीहरु स्वदेश फर्किन चाहे भने के गर्नुहुन्छ ?
विश्व नै अहिले लकडाउनमा छ । उनीहरु आउन चाहँदैमा हामीले पुष्प बिमान पठाउन सक्ने अवस्था त छैन ।
विश्वमा बसेका नेपालीहरु नेपाल आउन चाहन्छौं भने तपाईं ल्याउन नसक्ने ?
आउन पाउँछन् तर परिस्थिति सहज भएपछि आउने हो । अहिले आएर रिक्स मोल्ने काम किन गर्ने ? जहाँ–जहाँ हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरु बसिरहनुभएको त्यसप्रति हामीलाई पनि चिन्ता छ । उहाँहरुसँग हाम्रो सरकार र परराष्ट्र मन्त्रालयले राजदूतावासमार्पmत स्पष्ट रुपमा कुराकानी गरेको छ । तपाईंहरु जहाँ हुनुहुन्छ सुरक्षित बस्नुस्, त्यहाँको सरकारले लगाएको नियमको पालना गर्नुहोस् भनेका छौं । हामीले त्यहाँस्थिति दूतावासलाई निर्देशन दिएका छौं, ‘एउटा पनि नेपालीले दुःख नपाओस्’ भनेर जुन देशमा हुनुहुन्छ, तत्–तत् देशका रोजगारदाताहरुले पनि आत्मीयता देखाइरहेका छन् ।
खाडी मुलुकमा पनि समस्या छ नि ?
खाडी मुलुकमा मात्रै होइन । अन्त पनि छ, आज मैले माल्टाको न्यूज हेरिरहेको थिएँ । माल्टामा रोजगारदाताहरुले मिसन नै क्यान्सिल गर्न लागेको अवस्था छ । माल्टा भनेको यस्तो देश हो, जहाँ हाम्रो श्रम स्वीकृति लिएर गएका छैनन् ।

 



प्रतिक्रिया दिनुहोस्