अन्योलमा छन् इटालीमा रहेका नेपाली


काठमाडौँ, १९ चैत । कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटालीमा रहेका नेपाली हालसम्म सङ्क्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन् ।

श्रम र अध्ययनका लागि करीब एक हजारको सङ्ख्यामा त्यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म भाइरसको सङ्क्रमण नदेखिए पनि इटलीको राष्ट्रिय सङ्कटकालअन्तर्गत घरमै बसिरहँदा उनीहरुमा एक प्रकारको छटपटी छ । युरोपेली मुलुक इटलीमा कोभिड–१९ को सङ्क्रणका कारण हालसम्म ११ हजार ५९१ को दुःखद निधन भइसकेको छ भने उपचाररतमध्ये झण्डै ४०० गम्भीर अवस्थामा छन् । चीनबाट फैलिएको सो भाइरसका कारण हालसम्म विश्वमा ३७ हजारभन्दा बढीको मृत्यु हुँदा इटालीपछि स्पेनमा सबैभन्दा बढी सात हजारभन्दा बढीको मृत्यु भएको छ ।

वल्र्ड ओमिटर्स डट इन्फोका अनुसार इटालीमा कूल एक लाख एक हजार ७२९ लाई सङ्क्रमण देखिएकामा इटालीमा सङ्क्रमितमध्ये १४ हजार ६२० जना उपचारपछि घर फर्किएका छन् । त्यहाँ जनवरी २९ मा पहिलो सङ्क्रमित भेटिएका थिए । बाहिर आएको भन्दा अझ बढी तथ्याङ्कमा सङ्क्रमित हुन सक्ने पनि जनाइएको छ । इटालीमा शुरुमा १७ वर्षका एक नागरिकको निधन भएको थियो भने करीब छ हजारको सङ्ख्यामा स्वास्थ्यकर्मीकै मृत्यु भइसकेकाले त्यहाँ जनताले ठूलो सङ्कट व्यहोरिरहेका छन् ।

इटालीको उत्तरी भागमा रहेको लोभागियामा सबैभन्दा बढी असर परेको छ, त्यहाँ पनि नेपाली रहेका छन् । इटालीको अनुभवमा नियमित व्यायाम र दैनिक काम गर्ने पनि सङ्क्रमित र मृत्यु भएका छन् । पहिला अन्य रोग लागेकालाई अन्य मुलुकमा झैँ बढी असरमा पारेको छ । (गोरखापत्रबाट)