Logo

अष्ट्रेलियन दुतावासले आफ्ना २२० जना नागरिकलाई आजै स्वदेश फर्काउँदै, दूतावासमा घुईँचो



काठमाडौं, १९ चैत्र । नेपालस्थित् अष्ट्रेलियन दुतावासले नेपालका विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लैजाने तयारी थालेको छ । अहिले चक्रपथ बाँसबारीस्थित् दूतावास परिसरमा ठूलो संख्यामा अष्टेलियनहरु भेला भएका छन् । दूतावासले २२० जना आफ्ना नागरिकलाई स्वदेश फिर्ता लैजान लागेको छ। तीमध्ये ८० जना नेपाली मूलकका अष्ट्रेलियनहरु छन् । सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरेसँगै विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई विमान चार्टर गरेर स्वदेश फिर्ता लैजान लागेको हो ।

पोखरा, मुस्ताङ र लाङटाङमा रहेका अष्ट्रेलियन नागरिकहरुलाई आन्तरिक उडानबाट काठमाडौ ल्याएर विवरण सङ्कलन गरी स्वदेश फर्काउने तयारी भैरहेको छ ।  उनीहरुलाई लिएर नेपाल वायुसेवा निगमको ए३३० वाइडबडी जहाज आज साँझ अष्ट्रेलिया जाने भएको छ। अष्ट्रेलियन राजदूतावासले निगमको जहाज चार्टर गरी नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिक लैजान लागेको हो।

निगमको जहाज पहिलोपटक अष्ट्रेलिया पुग्दैछ। चार्टर जहाजमा कति यात्रु हुन्छन् भन्ने जानकारी आइनसकेको निगमले जनाएको छ। जाँदा यात्रु लिएर जाने भए पनि फर्कदा जहाज खाली आउने छ। २७४ सिट क्षमताको वाइडबडी बुधबार बेलुका ९ बजे उड्ने वायुसेवा निगम उडान संचालन विभाग प्रमुख दीपुराज ज्वारचनले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए।

जहाज मलेसिया ट्रान्जिट भएर जानेछ। काठमाडौंबाट उडेको चार घण्टामा मलेसियाको राजधानी क्वालालम्पुर पुग्ने छ। त्यहाँ इन्धन भरेर उडेको करीब आठ घन्टामा अस्टेलियाको सिड्नी उत्रने छ। जहाज स्थानीय समय अनुसार साँझ ४ः५५ मा सिड्नी पुग्ने सयम तय भएको छ। काठमाडौंबाट मलेसिया हुँदै सिड्नी पुगेर फर्कंदा करीब २५ घण्टाको उडान हुने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्