Logo

कोरोना रोकथामको स्वास्थ्य सामाग्री तीन दिनभित्र ल्याउन नयाँ टेन्डर



काठमाडौं, १९ चैत्र । सरकारले कोरोना रोकथामका लागि स्वास्थ्य सामाग्री ल्याउन तीन दिनभित्र नयाँ टेन्डर खोल्ने भएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्र प्रसाद श्रेष्ठले भोलि सामान आपूर्तिकर्ता कम्पनिका आधिकारिक व्यक्तिहरुलाई बोलाएर छलफल गर्ने र तीन दिनभित्र समय दिएर टेन्डरको निर्णयमा पुग्ने जानकारी दिए ।

यसअघि टेन्डर पाएको ओबीसीआईले तोकिएको समयमा सामान ल्याउन नसकेको भन्दै टेन्डर सम्झौता रद्ध घोषणा गर्दै श्रेष्ठले भने, ‘अब तीन दिनको समय दिन्छौं, जसले सस्तोमा समयमै सामान ल्याउने कबुल गर्छ उसैलाई दिन्छौं ।’ तीन दिनभित्र जसले कम मूल्यमा ल्याउने भन्छ उसैलाई जिम्मेवारी दिइने उनले बताए ।

यसअघिको सम्झौता रद्ध हुनुमा समयमा सामान ल्याउन नसकेको कारण भनेपनि टेन्डरमा सामान महँगो भएर विवादमा परेको थियो । प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले यसमा चासो व्यक्त गरेका थिए । यो प्रकरणमा सरकारमा रहेकाहरु समेत मुछिएका छन् ।



प्रतिक्रिया दिनुहोस्