Logo

कोरोना भाइरसविरुद्ध लड्न बैशाखसम्म लकडाउन कायम गर्नुपर्छ : धमला



काठमाडौं, १९ चैत्र । स्वास्थ्यकर्मी मधु धमला क्षेत्रीले विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले चालेका कदमहरु सराहनीय भएको भन्दै लकडाउन अवधि आगामी बैशाखसम्म लम्ब्याउन सुझाव दिएका छन् । उनले विश्वभरि कोरोना रोकथामको लागि लकडाउन लगाईएकोले नेपालले पनि सोहीअनुसार आफ्नो तयारी तिव्र पार्नुपर्ने बताएका हुन् ।

उनले सरकारको लकगाउनको आदेश नेपाली जनतलो पूर्ण रुपमा पालना गर्नुपर्ने पनि सुझाव दिए । उनले भने, कोरोनाबाट बच्नको लागि सरकारले लगाएको लकडाउन सबैले पालना गर्नुपर्छ । सबैजना घरभित्रै बस्नुपर्छ । यो बेलामा सरकारलाई सहयोग गरौं । सामाजिक दुरी कायम गर्नुपर्छ ।

उनले आफूपनि जिल्लाका विभिन्न भागमा कोरोना भाइरसबारे जनचेतनामूलक कार्यक्रम लिएर पुगेको सुनाए । धादिंगमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि उच्च सतर्कता अपनाईएको उनले जानकारी दिए । उनले भने,”जब देश र जनतालाई स्वास्थ्य विपति पर्छ त्यतिवेला स्वास्थ्यकर्मीको अहम भूमिका हुन्छ । र, जनप्रतिनिधि तथा सुरक्षाकर्मीहरुको पनि उत्तिकै दायित्व हुन्छ । अहिले कोरोनाविरुद्धको यो लडाईको अग्रपँक्तिमा हामी मिलेर लडिरहेका छौं ।”

उनले कोरोनाविरुद्धको यो लडाईको अग्रपँक्तिमा रहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको जीवन रक्षाको लागि आवश्यक स्वास्थ्य सुरक्षा प्रदान गर्न सरकारले पनि विशेष ध्यान दिनुपर्ने धारणा राखे । उनले भने,”हामी स्वास्थ्यकर्मीहरु यो बेलामा संयमित भएर सेवामा लागौं । सरकारले हाम्रो स्वास्थ्य सुरक्षाको प्रत्याभुति गराउनुपर्छ । विशेष प्याकेजको व्यवस्था गर्नुपर्छ ।”

उपचारमा खटिँदा यदि एक जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण भए भोलि हजारौंमा यो रोग फैलन सक्ने खतरातर्फ सरकारले बेलैमा सचेतना अपनाउनुपर्ने उनको भनाई छ । उनले भने,”यो कुरालाई सरकारले मनन गरोस् । भोलि एक जना स्वास्थ्यकर्मी संक्रमित भए हजारौं संक्रमित हुने खतरा छ । सरकारले बेलैमा स्वास्थ्योपचारमा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि आवश्यक स्वास्थ्य सामग्रीको बन्दोबस्त गरोस् ।”

धमलाले अहिले विश्व नै कोरोना भाइरसको महामारीमा परेकोले विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले पनि संयमतता अपनाउनुपर्ने टिप्पणी गरेका छन् । उनले भने,”विदेशमा रहनुभएका तपाईहरु सबै नेपालीमा मेरो अनुरोध छ कि तपाईहरु धैर्यताका साथ आफू सुरक्षित भएर बस्नुहोस् ।” उनले देश विपत्तिमा परेको बेला सम्बन्धित निकाय र यस सम्बन्ध व्यक्तित्वहरु घरभित्र लुकेर बस्न नहुने धारणा राखे । उनले भने,”सबै मिलेर यो लडाईमा होमिनुपर्छ । हामी जित्न सक्छौं ।”

कोरोनाका कारण हालसम्म विश्वमा ८ लाख ७६ हजार ३ सय ४५ जना संक्रमित छन् भने ४३ हजार ५ सय २० जनाको निधन भैसकेको छ । संक्रमितमध्ये १ लाख ८४ हजार ९ सय ६४ जना उपचारपछि निको भएका छन् । नेपालमा भने अहिलेसम्म ५ जनामा यो रोगको संक्रमण देखिएको छ । जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किएका छन् भने चार जना उपचार गराईरहेका छन् ।

Related News:

धादिङ नेत्रावती गाउँपालिकामा कोरोनाबारे २४सै घण्टा जनचेतनामूलक कार्यक्रम सञ्चालन



प्रतिक्रिया दिनुहोस्