Logo

मोहनचन्द्र अधिकारीले भने-श्रम गर्न सीमापारी गएकाको जीवनमाथि सरकारले खेलबाड गर्नु हुन्न



काठमाडौं, १९ चैत्र । नेपालको नेल्सन मण्डेलाका रुपमा चर्चित राजनेता मोहनचन्द्र अधिकारीले क विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसबाट जोगिन सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा हार्दिक अपिल गरेका छन् ।

कम्युनिष्ट आन्दोलनका राजनेता अधिकारीले बुधबार पठाएको अपिलमा भनिएको छ, ‘आज सिँगो विश्व कोरोना भाइरसबाट आक्रान्त छ । यस रोगबाट धेरैले अकालमा ज्यान गुमाएका छन् । कति उपचारपछि घर फर्किएका छन् । नेपालमा पनि कोरोनाको सन्त्रास जारी छ । सरकारले ‘लकडाउन’ घोषणा गरेको छ । यसको पालना गर्नु नै कोरोना भाइरसको संक्रमणबाट जोगिनु हो ।

यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले घर–घरमै सुरक्षित बस्नु, साबुन पानीले नियमित हात धुनु, स्यानेटाइजर प्रयोग गर्नु र अत्यावश्यक कामले घरबाहिर निस्कँदा माक्सको प्रयोग गर्नुपर्छ ।

रोग लाग्नुभन्दा रोगबाट बच्नु सबैभन्दा उत्तम कुरा हो । त्यसैले यो रोगको रोकथाम गर्न सरकारले देशैभरीका अस्पताललाई आवश्यक उपकरण, औषधिको व्यवस्था गर्नुपर्छ । काठमाडौंलगायत देशका प्रमुख ठाउँ र सहरमा कोरोना संक्रमित विमारीहरुको उपचार गर्ने व्यवस्था मिलाउनुपर्छ ।’

अधिकारीको विज्ञप्तिमा भनिएको छ, ‘विदेश तथा भारतबाट आएका नेपालीहरुलाई अपरिहार्य रुपमा क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्नुपर्छ । अहिले पनि सयौँ नेपाली श्रमिक तथा मजदूर सीमा क्षेत्रमा अलपत्र परेको समाचाहरु बाहिर आएको छ । ती श्रमिक, मजदूर र गरिब परिवारको तुरुन्त उद्वार गर्नुपर्छ । तिनीहरुलाई आफ्नै भूमिमा ‘क्वारेन्टाइन’मा राख्ने व्यवस्था गरिनुपर्छ ।

सीमा क्षेत्रमा अलपत्र परको सयौँ नेपाली बाध्यतावस कामको सिलसिलामा भारत गएका हुन् । भारतमा पनि कोरोना संक्रमण बढ्न थालेपछि त्यहाँको सरकारले नेपालीहरुलाई सीमामा ल्याएर छाडिदिएको छ । त्यसको जिम्मा नेपाल सरकारले लिनुपर्छ । कुनपनि वहानामा ती मजदूर, श्रमिकको जीवनमाथि सरकारले खेलबाड गर्नु हुन्न ।’

अधिकारीले आफ्नो अपिलमा जोड दिँदै भनेका छन्, ‘नेपालमा अहिले कम्युनिष्ट पार्टीको दुई तिहाइको सरकार छ । कम्युनिष्ट भन्ना साथ सर्वहारा वर्ग र श्रमिक, मजदूर र किसानहरुको पार्टी हो । राष्ट्र संकटमा परेको बेला कम्युनिष्ट सरकारले गरिब, श्रमिक र मजदूरको पक्षमा ठोस निर्णय लिनुपर्दछ । दिनदिनै काम गरेर हातमुख जोर्न बाध्य परिवारमा कसरी बाँचेका छन् भन्नेतिर ध्यान पु¥याउनु पर्दछ । देशैभरी श्रमिक, मजदूर र किसानको संख्या ठूलो छ । तिनीहरुको जीवनरक्षामा प्रधानमन्त्री केपी शर्मा ओली सतिसालझैँ उभिनुपर्छ ।’

अन्त्यमा, राष्ट्रिय संकटको घडीमा दैनिक उपभोग्य वस्तुलगायत औषधि अभाव हुन दिनु हुन्न । सिंगो मुलुक अनिश्चितकालका लागि ठप्प भएको बेला जनताको मनोवल बढाउन राज्यले उचित राहत प्याकेजको घोषणा गर्नुपर्छ ।

बृद्धाआश्रम, अस्पताल र घर–घरमा रहेका जेष्ठ नागरिक र बालबालिकाको स्वास्थ्यमा सबैले ध्यान दिनुपर्छ । कसैले पनि हेलचेक्र्याई नगरौँ । विश्वका कतिपय देशले हेलचेक्र्याई गर्दा आज भयावह स्थिति भोग्दैछन् । त्यसैले हामीले यो रोगबाट बच्न र बचाउन स्वास्थ्यसम्बन्धी नियमको पालना गरौँ, घर-घरमै सरक्षित बसौँ ।’ धन्यवाद ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्