Logo

कोरोना उपचार कोषमा अहिलेसम्म कति रकम जम्मा भयो ? हेर्नुहोस विवरण



चैत १९, काठमाण्डौ । कोरोना भाइरसले विश्वव्यापी रुपमा प्रभाव पारेको अवस्थामा नेपाल पनि त्यसबाट अछुतो रहन सकेन । यही सन्दर्भमा नेपाल सरकार मन्त्रीपरिषद्को चैत ९ गते बसेको बैठकले कोरोना भाइरस रोकथाम एमव् नियन्त्रण कोष स्थापना ग¥यो । सो कोषबाट उपचार र नियन्त्रणका लागि खर्च गरिने भन्दै सरकारले सहयोग रकम जम्मा गर्न आग्रह गरेसँगै अहिले सहयोग रकम जम्मा हुने क्रम जारी रहेको छ ।

कोष स्थापना गरि सरकार आफैँले ५० करोड रुपैयाँ जम्मा गरेको थियो । कोरोना संक्रमणलाई फैलन नदिन तथा रोकथाम एवम् नियन्त्रणका लागि राष्ट्रिय वाणिज्य बैँक सिंहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ मा कोष स्थापना गर्दै रकम जम्मा सार्वजनिक रुपमा आह्वान गरेको थियो ।

अहिलेसम्म कर्पोरेट क्षेत्रबाट उक्त कोषमा एनसेल प्रालिले १० करोड रुपैयाँ योगदान गरेको जनाएको छ । हालसम्म सो कोषमा बीमा समितिले २ करोड, राष्ट्रिय बाणिज्य बैंकले १ करोड ५० लाख, कृषि विकास बैंकले १ करोड २५ लाख, हिमालयन बैंकले १ करोड २५ लाख, नागरिक लगानी कोषले १ करोड २५ लाख, ग्लोबल आइएमई बैंकले १ करोड १५ लाख, लक्ष्मी ग्रुपले १ करोड, भाटभटेनी समूहले १ करोड रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ ।

यस्तै नर्भिक बसन्त चौधरी फाउन्डेसनले पनि सरकारको कोषलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

यसैगरी, सातै प्रदेशलाई थप २५-२५ लाख, नेपाल बैदेशिक रोजगार व्यवसायी महासंघले १ करोड, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले १ करोड, नेपाल निर्माण व्यवसायी महासंघले १ करोड, नेपाल बैंकले १ करोड, सातै प्रदेशलाई थप ५-५ लाख, सिद्धार्थ बैंकले ७० लाख, नेपाल धितोपत्र बोर्डले ५० लाख, नेपाल उद्योग बाणिज्य महासंघले ५० लाख, सिटिजन्स बैंकले ४९ लाख, बैंक अफ काठमाण्डूले ५ लाख ५१ हजार ४१३ रुपैयाँ ९४ पैसा, सन्दीप लामिछानेले १ लाख, राष्ट्रिय सहकारी बैंक लिमिटेडले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ रकम जम्मा भएको छ ।

कोषमा मंगलबारसम्ममा नेपाल औद्योगिक महासंघले ५० लाख, नाम नखुलेको तथा १ लाख भन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति, संघसस्थाबाट १ करोड, ९ लाख २ हजार ९ सय २४ रुपैयाँ, चैत १७ गते २० करोड ७३ लाख ८ हजार ५ सय ६५ रुपैयाँ ५२ पैसा र चैत १८ गतेसम्ममा कुल २२ करोड ३२ लाख ३७ हजार ५ सय ८९ रुपैयाँ ५२ पैसा रकम जम्मा भएको मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

कोषमा राष्ट्रपति विद्यादेवी भण्डारीले २ महिनाको तलब दिने घोषणा गरेसकेकी छिन् । त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले राहत कोषमा आफ्नो एक महिनाको तलब दिने घोषणा गरेका छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा आफ्नो एक महिनाको पारिश्रमिक उपलब्ध गराएका छन् । कोषमा गायक प्रकाश सपुतले २ लाख रुपैयाँ सहयोग गरेका छन् ।

कोषमा प्रधानमन्त्रीका सचिवालय टीममा रहेका सदस्यहरूले पनि सहयोग घोषणा गरिसकेका छन् । कोषमा प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, आर्थिक मामिला सल्लाहकार लालशंकर घिमिरे, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र स्वकीय सचिव राजेश बज्राचार्यले एक महिनाको पारिश्रमिक सहयोग गर्ने भएका हुन् ।

त्यस्तै विकास तथा पूर्वाधार विज्ञ गजेन्द्र थपलिया, संचार विज्ञ रामशरण बजगाईं र स्वकीय सचिव होमबहादुर थापाले भने आधा महिनाको पारिश्रमिक उपलब्ध गराउने भएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना उपचार कोषमा दुई करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेका छन् । पूर्वराजा शाहले मंगलबार एक प्रेस वक्तव्यमार्फत २ करोड सहयोगको घोषणा गरेका हुन् ।

सरकारले रकम जम्मा गर्ने आह्वान गरेसँगै उक्त कोषमा सांसद, कर्मचारी, उद्योगी लगायत राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीनको तलब बराबरको तलब कोषमा जम्मा गर्ने प्रतिबद्धता गरेको भएपनि मंगलबारसम्ममा सो रकम जम्मा भएको छैन । गरिमा विकास बैंकले ३५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ । छिमेक लघुवित्त वित्तीय संस्थाले कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको छ । कोषमा घोषणा धेरै भए पनि चेक क्लियरिङ भने भएको छैन ।

कोषले प्रधानमन्त्री दैवी उद्धार कोष संचालन नियामावली २०६३ अनुसार कार्यविधि तयार गरेको जनाएको छ । सरकारले सो कोषमा राखेको रकम अहिलेसम्म अर्थमन्त्रालयले निकासा गरेको छैन ।



प्रतिक्रिया दिनुहोस्