Logo

कोरोना संक्रमितलाई उपचार गर्दा स्वास्थ्यकर्मीको मृत्यु भए एक करोड राहत दिने घोषणा



चैत १९, नयाँ दिल्ली । भारतको दिल्ली सरकारले आफ्नो राज्यभित्र कोरोना भाइरसको सङ्क्रमण भएका विरामीको उपचारका क्रममा स्वास्थ्यकर्मीको मृत्यु भएमा परिवारलाई एक करोड भारतीय रुपैयाँ दिने घोषणा गरेको छ । बुधबार मुख्यमन्त्री अरविन्द केजरीवालले उनीहरूलाई आर्थिक राहत स्वरुप एक करोड रुपैँया दिने घोषणा गरेका हुन् ।

कोरोना भाइरसबाट सङ्क्रमितलाई सेवा गर्ने सफाई कर्मचारी, स्वास्थ्यकर्मीलगायतलाई उत्प्रेरणा र सम्मान स्वरुप सो रकम दिने घोषणा गरिएको केजरीवालले उल्लेख गरेका छन् । मुख्यमन्त्री केजरीवालले यस्तो राहत रकम सरकारी तथा निजी दुवै क्षेत्रबाट खटिएकाहरुलाई दिइने पनि स्पष्ट पारे ।

अरविन्द केजरीवाल

केजरीवालले भनेका छन्–मलाई थाहा छ तपाईंहरूको सेवा अमुल्य छ, जे गरिरहनु भएको छ, त्यो तपाईंहरूले मानवताको आधारमा गरिरहनु भएको छ, त्यस क्रममा केही गरी अनिष्ट भएमा सम्मान स्वरुप यो रकम उपलब्ध गराइने भएको हो ।

उनले डाक्टर र नर्सहरु हरेक दिन आफ्नो घर जान सम्भव नभएकाले पाँच तारे होटलमा बस्ने व्यवस्था गरिएको पनि जानकारी दिए । स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक पर्ने पीपीई पर्याप्त उपलब्ध गराउने पनि उनले विश्वास दिलाएका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या एक हजार ६३७ पुगेको छ । तीमध्ये एक हजार ४६६ जना अझै पनि बिरामी अवस्थामा छन् भने १३३ जना सन्चो भएर घर फर्केका छन् । त्यसैगरी अन्य ३८ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस्