उपत्यकामा पर्याप्त क्वारेन्टाइन निर्माण


काठमाडौँ, २० चैत । कोरोना भाइरस (कोभिड–१९)ले नेपाली जनमानसमा त्रास बढिरहेका बेला काठमाडाँ उपत्यकाभित्र भने विदेशबाट फर्किएका नागरिकका लागि ‘एक व्यक्ति एक क्वारेन्टाइन बेड’ पुग्ने गरी निर्माण भएका छन् । काठमाडौ, भक्तपुर र ललितपुरका १८ वटा नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि एक व्यक्ति एक बेडको अवधारणा अनुसार क्वारेन्टाइन निर्माण गरेका हुन् ।

उपत्यकास्थित १८ वटा नगरपालिकाभित्र गत तीन सातामा एक हजार २० जना विदेशबाट फर्किएका छन् भने एक हजार १९१ क्वारेन्टाइन बेड निर्माण भएका छन् । ती नगरपालिकाले आआफ्नो नगरपालिकाभित्र भएका अस्पतालसँग आपसी समन्वय गरी २८६ बेडको आइसोलेसन वार्ड निर्माण गरेका छन् । यहाँका सबै स्थानीय तहले विदेशबाट आएका नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने हो भने कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने सम्भावना नदेखिने जानकारहरूको भनाइ छ ।

उक्त नगरपालिकाले सामुदायिक विद्यालय, कलेज, सामुदायिक भवन, स्वास्थ्यचौकी र क्लबका भवनमा कोरोना भाइरसका लक्षण देखिएका सङ्क्रमित व्यक्ति राख्नका लागि अग्रिम रूपमा क्वारेन्टाइन निर्माण गरेका हुन् । केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपत्यकाका जनप्रतिनिधिसँग छलफल गरी आआफ्नो क्षेत्रभित्र सम्भव भएका ठाउँमा कोरोना भाइरसका लक्षण देखिएका व्यक्ति राख्नका लागि क्वारेन्टाइन बनाउन निर्देशन दिएको थियो । (गोरखापत्रबाट)