Logo

राम नवमीमा भगवान् रामको स्मरण



काठमाडौँ, चैत २० गते । चैत शुक्ल नवमीका दिन भगवान् रामप्रति विशेष भक्तिभाव प्रकट गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)प्रति सजगता अपनाउँदै हाल मुलुक लकडाउनमा रहेकाले रामप्रति श्रद्धाभाव गर्नेले आफू बसेकै ठाउँमा रहेर रामको संस्मरण गरेका हुन् । त्रेतायुगमा भगवान् रामको यही दिन जन्म भएको मानिन्छ ।

रामचन्द्र मन्दिर राजधानीको बत्तीसपुतलीमा कुनै उत्सव नरहेको र घरकोठामै सुरक्षित रहेर भगवान् रामलाई संस्मरण गर्न सकिने मन्दिर संरक्षण एवं सम्बद्र्धन समितिका डा। गोविन्द टण्डनले जानकारी दिनुभयो । मर्यादा पुरुषोत्तमका रूपमा रामको जीवन चरित्रलाई राम नवमीमा संस्मरण गर्ने र आफू पनि चरित्रवान् रहने प्रण गरिन्छ । धर्मपिता, पत्नी, भाइ र नागरिकप्रति भगवान् रामले स्थापित गर्नुभएको नैतिक चरित्र प्रसिद्ध र अनुकरणीय मानिँदै आएको छ । वाल्मीकि, तुलसीदास र भानुभक्त आचार्यले लेख्नुभएको रामायणमा रामको आदर्श जीवन चरित्रको वर्णन छ ।

काठमाडौँ बत्तीसपुतलीस्थित रामचन्द्र मन्दिर, रामचन्द्रपाटी कोप्चे (धनकुटा), रामचन्द्र मन्दिर भष्मेश्वर पशुपति, रामजानकी मन्दिर कोइलावास (दाङ), बकुनिया (बारा), परौल (महोत्तरी), गौर (रौतहट), रामादीघाट (पाल्पा), रामजी मन्दिर मादी (सङ्खुवासभा), रामजानकी मन्दिर (जनकपुर) र गौरको महादेवपट्टीमा विशेष उत्सव आयोजना हुने गर्छ तर यो वर्ष कोरोना भाइरस सङ्क्रमण नहोस् भनेर कुनै उपासना आयोजना नगरिएको गुठी संस्थानले जनाएको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्