Logo

अपटेडः १३ इन्डोनेशियाली ‘सप्तरीमा मुसलमान धार्मिक सम्मेलनमा सहभागी, दुई महिनायता नेपालमै’



ललितपुर, २० चैत्र । लकडाउनको समयमा महालक्ष्मी नगरपालिकामा गएराति ल्याइएका १३ इन्डोनेशियाली लामो समययता सप्तरीमा बस्दै आएको खुलेको छ । उनीहरुलाई गएराति बसमा राखेर ल्याइएको खुलेको हो ।

दिल्लीको निजामुद्दीनको धार्मिक भेलामा सहभागी भएर फर्किएका भनिएपनि यसबारे आफूहरुलाई कुनै सूचना नआएको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले १३ जना इन्डोनेशियाली सप्तरीको धार्मिक भेलामा भने सहभागी भएको जानकारी आएको बताए । उनले भने, उनीहरु दिल्लीको भेलामा सहभागी भएको तथ्य भेटिएको छैन ।

१३ जना इन्डोनेशियाली नागरिक यति लामो समयसम्म नेपाल बसेर धार्मिक गतिविधिमा सहभागी भएको तथ्य भने खुलेको छ । उनीहरु ४ देखि ६ फागुनमा सप्तरीको मुसलमान धर्मालम्बीहरुको धार्मिक भेलामा भने सहभागी भएका थिए । उक्त भेलामा हजारौं मुलसमान धर्मालम्बी सहभागी भएका थिए । यो सम्मेलनप्रति छिमेकी देशहरुले समेत चासो व्यक्त गरेका थिए । सम्मेलन सप्तरीको बोदेबर्साइन ५ जाजरामा भएको थियो । नेपाल र भारतका गरी दुई लाखभन्दा बढी मुस्लिम समुदाय सहभागी भएको सम्मेलनमा दिल्लीस्थित मर्कट जामे मस्जिदका मौलाना मोहम्मद हजरत सादको समेत उपस्थिति थियो ।

डेढ महिना अघि धार्मिक भेलामा सहभागी हुन नेपाल आएका इन्डोनेशियालीहरु त्यसबीच कहाँ कहाँ पुगे भन्ने विषय अहिले गम्भीर बनेको छ । उनीहरुलाई गएराति सप्तरीबाट ल्याइएको खुलेपछि भारत प्रवेश गरे नगरेको अझै खोजीको विषय बनेको छ । यद्यपि प्रहरीले उनीहरु नेपालभित्रै रहेको बताएको छ ।

सप्तरीको भेलामा सहभागी १३ जना इन्डोनेशियाली नयाँ दिल्लीस्थित निजामुद्दीनको धार्मिक मेलामा सहभागी भएको जानकारी नभएको जनाइएपनि त्यहाँ इन्डोनेशियाली पनि रहेको खबर भारतीय सञ्चारमाध्यमले प्रसारण गरिरहेका छन् । तर, ती इन्डोनेशियाली नेपालमा भेटिएकाहरु हो होइनन् स्पष्ट भएको छैन ।

नेपाललगायत, इन्डोनेशिया, मलेशिया, थाइल्यान्ड, म्यानमार, बँगलादेश, श्रीलंका र किर्गिजस्तानका मुसलमान समुदाय तवलिगी जमातको सेवाका लागि दिल्लीको निजामुद्धिन पुग्ने गर्छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्