Logo

सरकारले घोषणा गरेको ‘लकडाउन’ को पूर्णपालना गर्न कामनपाको आग्रह



काठमाडौं, २० चैत्र । काठमाडौँ महानगरपालिकाले असहाय, अतिविपन्न तथा मजदूरलाई मात्रै राहत लिन आग्रह गर्दै सरकारले घोषणा गरेको ‘लकडाउन’ को पूर्णपालना गर्न अनुरोध गरेको छ । राहत वितरणका क्रममा असहाय र अतिविपन्नले मात्र नभई दैनिक सहजरुपमा जीवन निर्वाह गरेकाले पनि राहत सामग्री लिएको पाइएपछि महानगर प्रमुख विद्यासुन्दर शाक्यले यस्तो धारणा राखेका हुन् । महानगरले बुधबारदेखि राहत वितरण कार्य शुरु गरेको छ ।

नेपाल सरकारले घोषणा गरेको दुईहप्ते ‘लकडाउन’लाई उल्लङ्घन गर्ने छिटफुट गतिविधि हुन थालेका भन्दै त्यसलाई जिम्मेवार ढङ्गले पूरा गर्न प्रमुख शाक्यले आग्रह गरेका छन् । उनले अभिभावक नभएका, आयस्रोत तथा जायजेथा नभएका, वृद्धाश्रम, संरक्षणगृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित, आम्दानीको स्थायी स्रोत नभएका, दैनिक गुजारा गर्न धौधौ पर्ने महानगरवासीलाई राहत वितरण शुरु गरेको जानकारी दिएका छन् ।

महानगरपालिकाले सङ्कटमा परेका असहाय, अतिविपन्न र दैनिक ज्याला मजदूरी गर्दै आएका कामदार तथा मजदूरलाई मात्रै राहत उपलब्ध गराउने भएकाले अन्य व्यक्ति एवं परिवारले राहत सामग्री नलिइदिनुहुन हार्दिक अनुरोध गरेको छ । प्रमुख शाक्यले आज एक अपिल जारी गर्दै उहाँले यस्तो आग्रह गरेका हुन् ।

“कोरोना सङ्क्रमणलाई सामान्यरूपमा लिनु ठूलो गल्ती हुनसक्ने भएकाले लकडाउन घोषणालाई पूर्ण पालना गरी घरैमा बसेर कोरोना सङ्क्रमणविरुद्धको राष्ट्रिय अभियानलाई सहयोग पु¥याइदिनुहुन सम्पूर्ण महानगरवासीमा पुनः एकपटक हार्दिक अपिल गर्दछु”, प्रमुख शाक्यले भनेका छन् ।

उनले अमेरिकालगायत युरोपका केही ठूला र विकसित देशमा अहिले महामारीका रूपमा सङ्क्रमण फैलिनुको एकमात्र कारण सरकारद्वारा घोषित ‘लकडाउन’ को बेवास्ता गर्नुले नै हो भन्ने कुरालाई हेक्का राख्दै आम नेपाली अझ बढी सचेत र सर्तक हुनु आवश्यक रहेको पनि उल्लेख गरेका छन्।

“नेपाल सरकारले लकडाउन अवधिभर सम्पूर्ण असहाय, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई राहत प्रदान गर्ने निर्णय गरेको र त्यसका लागि स्थानीय निकायले लगत सङ्कलन कार्य अघि बढाइएको छ”, उनले जारी गरेको अपिलमा भनिएको छ, “यसै सन्दर्भमा काठमाडौँ महानगरपालिकाले पनि महानगरभित्र तत्काल राहत वितरण कार्यलाई सहज र व्यवस्थित गर्न ‘कोभिड– १९ सम्बन्धी राहत वितरण मापदण्ड, २०७६’ पारित गरिसकेको छ ।” file photo



प्रतिक्रिया दिनुहोस्