Logo

सुत्केरी हुन नसकेर प्रसव पीडामा रहेकी महिलाको हेलिकप्टरद्धारा उद्धार



काठमाडौं, २० चैत्र । लकडाउनले मुलुक ठप्प भएका बेला सुत्केरी हुन नसकि प्रसव पीडामा रहेकी सोलुखुम्बुकी एक महिलाको पनि हवाई उद्धार गरि काठमाडौं ल्याइएको छ । सुत्केरी गराउन बिहीबार (आज) बिहान स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएकी सोताङ गाउँपालिका वडा नम्बर ४ की ३० वर्षीया पुष्पकला राईको गर्भमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल रहेको खबर पाउने वित्तिकै नेपाली सेनाको हेलिकप्टरमार्फत् निःशुल्क हवाई उद्धार गरी काठमाडौं ल्याइएको हो ।

लकडाउनका कारण मुलुक ठप्प भएपनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा काठमाडौं ल्याएलगत्तै थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा उनको उपचार भईरहेको छ ।

पेटमा रहेको शिशुको स्वास्थ्य अवस्था जटिल भएपछि आमा र बच्चा दुवैको जीवन रक्षाका लागि काठमाडौं रिफ्र गर्नु परेको सोताङ प्राथमिक स्वास्थ्य केन्द्रका चिकित्सक डा. आशिष आलोकले जानकारी दिनु भयो । उहाँका अनुसार पेटमा रहेको शिशुले दिसा गरेको र त्यसले उनको स्वास्थ्य अवस्था गम्भिर भएको थियो ।

पेटमा रहेको बच्चाको स्वास्थ्य अवस्था जटिल भएपछि चिकित्सकहरुको सिफारिसमा सुत्केरी हुन नसकि प्रसव पीडामा रहेकी आफ्नी श्रीमतिको हवाई उद्धार गरी काठमाडौं ल्याइएको परशुराम राईले बताए। उनले लकडाउनका बेला पनि मन्त्री गुरुङले आफ्नी श्रीमतिको तत्काल हवाई उद्धार गरी उपचारको व्यवस्था मिलाई दिएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिए।

आमा र पेटमा रहेका शिशुको स्वास्थ्य अवस्था जटिल भएको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रले जानकारी गराएपछि सोखुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले हवाई उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सिफारिस गरेका थिए ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत यस मन्त्रालयले जटिल स्वास्थ्य अवस्था भएका गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरी उपचारको व्यवस्था गर्दै आएको छ । यसैबीच, मन्त्री गुरुङले उपचाररत ती महिलाको उपचारमा कुनै कमी हुन नदिन अस्पतालका चिकित्सकहरुलाई निर्देशन दिएका छन् ।

यसअघि गत चैत्र १५ गते पनि अत्याधिक रक्तश्राव भएकी खोटाङकी एक गर्भवतीको हवाई उद्धार गरी मन्त्री गुरुङले उपचारको व्यवस्था मिलाउनु भएको थियो । यस मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय ईकाईले हालसम्म ९२ जना सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार गरिसकिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्