Logo

धार्मिक सम्मेलनमा सहभागी १३ इन्डोनेशियाली महालक्ष्मीबाट गोदावरी लगिएपछि…



ललितपुर, २० चैत्र । मुस्लिम धार्मिक सम्मेलनमा सहभागी १३ इन्डोनेशियाली महालक्ष्मी नगरपालिकामा गएराति ल्याइएको जानकारी आएपछि त्यसको विरोध भयो । स्थानीयको विरोधपछि उनीहरुलाई गोदावरी नगरपालिकास्थित गोदावरी भिलेज रिसोर्टमा लगिएको छ । त्यहाँ पनि स्थानीयले विरोध गरेका छन् ।

१३ इन्डोनेशियाली लामो समययता सप्तरीमा बस्दै आएको खुलेको छ । उनीहरुलाई गएराति बसमा राखेर ल्याइएको खुलेको हो । सप्तरीको सम्मेलन दिल्लीको निजामुद्दीनस्थित मकरेजको तब्लिगी जमातसँग समेत सम्बन्ध जोडिएको हो । फागुनको पहिलो हप्ता भएको सप्तरीको सम्मेलनमा प्रवचन दिन मौलाना साद पुगेका थिए । जहाँ दुई लाख मुसलमान समुदायको सहभागिता थियो । दिल्लीको निजामुद्दीनमा विश्वभरका चार हजार मुसलमान धर्मालम्बीहरुको सहभागिता थियो । त्यही सम्मेलनमा सहभागीमध्येबाट चार सयभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण भइसकेको छ । सम्पर्कमा आएका हजारौंलाई क्वारेन्टाइनमा राखिएको छ ।

उक्त सम्मेलनमा विभिन्न देशका नागरिक सहभागी थिए । त्यसमध्ये नेपालीहरु पनि थिए । इन्टोनेशियाली नागरिक पनि सहभागी भएका थिए । सहभागी तिनै इन्डोनेशियाली नेपाल प्रवेश गरेको हुनसक्ने अनुमान गरियो । तर, प्रहरीले उनीहरु नेपालभित्र नै थिए भनेको छ । सप्तरीबाट ल्याइएको पुष्टि भने भएको छ ।

दिल्लीको निजामुद्दीनको धार्मिक भेलामा सहभागी भएर फर्किएका भनिएपनि यसबारे आफूहरुलाई कुनै सूचना नआएको प्रहरीले बताएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले १३ जना इन्डोनेशियाली सप्तरीको धार्मिक भेलामा भने सहभागी भएको जानकारी आएको बताए । उनले भने, उनीहरु दिल्लीको भेलामा सहभागी भएको तथ्य भेटिएको छैन ।

१३ जना इन्डोनेशियाली नागरिक यति लामो समयसम्म नेपाल बसेर धार्मिक गतिविधिमा सहभागी भएको तथ्य भने खुलेको छ । उनीहरु ४ देखि ६ फागुनमा सप्तरीको मुसलमान धर्मालम्बीहरुको धार्मिक भेलामा भने सहभागी भएका थिए । उक्त भेलामा हजारौं मुलसमान धर्मालम्बी सहभागी भएका थिए । यो सम्मेलनप्रति छिमेकी देशहरुले समेत चासो व्यक्त गरेका थिए । सम्मेलन सप्तरीको बोदेबर्साइन ५ जाजरामा भएको थियो । नेपाल र भारतका गरी दुई लाखभन्दा बढी मुस्लिम समुदाय सहभागी भएको सम्मेलनमा दिल्लीस्थित मर्कट जामे मस्जिदका मौलाना मोहम्मद हजरत सादको समेत उपस्थिति थियो । अहिले भारतमा कोरोना संक्रमण फैलाउने जिम्मेवार ठानिएको सम्मेलन गराएका कारण सादमाथि त्यहाँको प्रहरीले अनुसन्धान बढाएको छ ।

डेढ महिना अघि धार्मिक भेलामा सहभागी हुन नेपाल आएका इन्डोनेशियालीहरु त्यसबीच कहाँ कहाँ पुगे भन्ने विषय अहिले गम्भीर बनेको छ । उनीहरुलाई गएराति सप्तरीबाट ल्याइएको खुलेपछि भारत प्रवेश गरे नगरेको अझै खोजीको विषय बनेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्