Logo

लकडाउन केही सहज पारिने, कामदार भित्रै राखेर उद्योग चलाउन पाउने



काठमाडौँ, २१ चैत । सरकारले अत्यावश्यक वस्तु आपूर्तिमा ढुवानी व्यवस्थापन सहज बनाउने भएको छ । यातायात तथा मानिसको आवतजावतमा रोक लगाएको १० दिनेपछि सरकारले खाद्य सामग्री, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको ढुवानीलाई सहज बनाउने निर्णय गरेको हो ।

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समन्वय समिति बैठकले नियमित आपूर्ति भइरहेका दैनिक उपभोग्य वस्तुका साथै मुलुकभित्रै हुनसक्ने उत्पादनका विषयमा समेत छलफल गरेको छ ।

अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले अत्यावश्यक खाद्य सामग्री, इन्धन आपूर्तिमा ढुवानी व्यवस्थापन सहज बनाइने बताएका छन् । प्रवक्ता डा. खतिवडाले स्वास्थ्यका मापदण्ड पुरा गरेर आवासीय रुपमा अत्यावश्यक उद्योग तथा ठूला आयोजना सञ्चालन गर्न दिइने बताए ।

उनले भने, “अतिआवश्यक वस्तु उत्पादन गर्ने उद्योगलाई कामदारलाई भित्रै व्यवस्थापन गर्ने गरी सञ्चालन गर्न दिइने छ ।” उहाँका अनुसार, आवासीय रुपमा मजदुर परिचालन गरी अन्य उद्योगलाई पनि सञ्चालन गर्न दिइने छ । त्यस्ता उद्योगले आवागमनलाई बाहिरै रोकेर स्वास्थ्य सुरक्षासहित सञ्चालन गर्न सक्नेछन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्