Logo

थप यात्रुको खोजी जारी



काठमाडौँ, २१ चैत । दोहाबाट कतार एयरवेजको उडान क्यूआर ६५२ बाट चैत ४ गते (मार्च १७) नेपाल आएका तीन व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँंगै प्रहरीले सम्पर्कमा नआएका अन्य यात्रुको खोजी तीव्र पारेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेशराज जोशीले सङ्क्रमित तीनैजना महिला सोही विमानबाट दोहाबाट काठमाडौँ आएको कुरा यसअघि नै पुष्टि भइसकेकाले र त्यसमा सवार १५८ मध्ये १४० जना सम्पर्कमा आएको बताएका छन् । कतार एयरको ४ गतेको फ्लाइट क्यूआर ६५२ मा सवार बाँकी १७ जनाको खोजी कार्य जारी रहेको छ । “त्यसमा ४८ जिल्लाका नागरिकले यात्रा गरिरहेको तथ्य फेला पारिसकेका छौंँ”, उनन थपे, “सबैलाई सम्पर्कमा आउन आग्रह गरेका छौँ । नआएकाहरूको खोजी हुँदैछ । ’’ त्यस्तै यूएईबाट एयर अरवियाको फ्लाइट जी ९५३७ विमानबाट चैत ६ गते (मार्च १९) काठमाडौँ आएका धादिङका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यसमा सवार १७० मध्ये १३१ जना सम्पर्कमा आएका छन् ।

सो विमानमा पनि ४० जिल्लाका नागरिक रहेको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयबाट पुष्टि भएको हो । तीमध्ये ३९ जना सम्पर्कमा आएका छैनन् । प्रवक्ता जोशीले राहदानी विभागबाट विस्तृत विवरण सङ्कलन गरी खोजी गर्न सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको बताएका छन् । भारतको दिल्लीबाट भिस्तारा एयरबाट चैत ७ गते ९मार्च २०० काठमाडौँ आएका धनगढी कैलालीका एक पुरुषमा यही १४ गते कोरोना भाइरस सङ्क्रमण भएको खवर प्राप्त भएसँगै त्यसमा सवार १३० मध्ये ५१ जना सम्पर्कमा आएको जानकारी प्रहरीले दिएको छ । अझै ७९ जना सम्पर्कमा छैनन् ।

‘‘हामीले सबैलाई सम्पर्कमा आइदिन बारम्बार आग्रह गरिरहेका छौंँ, रोग लुकाउँदा थप महामारी फैलिने भएकाले त्यसो नगरी दिन अनुरोध गरेका छौंँ’’, प्रहरी प्रवक्ता जोशीले थप्नुभयो, ‘‘सम्पूर्ण विवरण खुलाई सम्पर्कमा ल्याउन स्थानीय प्रहरीलाई निर्देशन त दिएका छौँ तर, व्यक्ति नै भेटिँदैनन् । ’’ कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको अभियानमा साथ नदिने व्यक्तिलाई पक्राउ गर्ने तयारी नभए पनि खोजी कार्य जारी रहेको स्पष्ट पार्नुभयो । उनले कतार एयरमा सवार विदेशी नागरिक आफ्नो मुलुक फर्किसकेको जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्