Logo

जीवित देवी पनि एकान्तवासमा



काठमाडौँ, २१ चैत । उपत्यकाका जीवितदेवीका रूपमा पूज्य काठमाडौँ वसन्तपुरकी कुमारी, पाटनकी गणकुमारी र भक्तपुरकी एकान्त कुमारी पनि स्व–एकान्तवास (सेल्फ क्वारेन्टाइन) मा हुनुहुन्छ ।

चैते दशैँका दिन तलेजु पूजाका लागि वसन्तपुरकी कुमारीलाई कुमारीघरबाट एकाध मिनेट नजिक तलेजुमा लगिएको भए पनि उहाँ घोडेजात्राका दिनदेखि एकान्तवासमा हुनुहुन्छ । कुमारीका सहयोगी गौतमरत्न शाक्यका अनुसार जस्तै परिस्थितिमा पनि कुमारीसँग भक्तजनको भेट गराइएको छैन । पाटनकी गणकुमारी र भक्तपुरकी एकान्त कुमारी पनि भक्तजनको सम्पर्कमा नरहेर स्वएकान्तवासमा हुनुहुन्छ । भक्तपुर महाकाली नाचका महाकाली लगायतका देवता पनि घरमै सुरक्षित प्रकारले रहनुभएको छ ।

हरिसिद्धिका देवगण, भक्तपुरको नवदुर्गाका देवगण पनि सरकारको आग्रह अनुसार सार्वजनिक स्थलमा नरहेर घरमै रहनुभएको छ । चैते दशैँ लगायत वैशाखको सुरु दिन हुने बिस्केट जात्राभरि नै यी देवी देवता सार्वजनिक रूपमा भक्तजनका सामु रहनुपर्छ । साँखुमा यही बेला बज्रयोगिनी जात्रा रोकिएपछि यहाँकी स्थानीय जीवित देवी कुमारी दर्शन पनि रोकिएको छ ।

भक्तपुर महाकाली नाचका मूलनाइके तुल्सीनारायण दण्डेख्याका अनुसार लकडाउन घोषणा भए यताबाट नवदुर्गा नाच रोकिएको छ भने देवगण घरमा सुरक्षित रहनुभएको छ । हरिसिद्धिका पुजारी राइटर महर्जनले हरिसिद्धिमा लकडाउनको पूर्णपालना भइरहेको जानकारी दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्