Logo

नगरवासी भोको बस्नुपर्दैन



काठमाडौंँ, २१ चैत । तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहरा र उपप्रमुख भवानी डोटेल धितालले ‘कोही नगरवासी भोको बस्नुपर्दैन’ भन्ने भिडियो सन्देश जारी गर्नुभएको छ ।

गरपालिकाले विपन्न परिवारलाई कोरोना भाइरस (कोभिड–१९) को लकडाउन अवधिमा कम्तीमा १० केजी चामलदेखि अन्य खाद्यान्न वितरण गर्ने योजना पनि बनाएको सन्देशमा उल्लेख गरिएको छ । नगरपालिकाको मुख्य भवनको करिब सय मिटर दक्षिण र उत्तरमा रहेका केही स्थानीयवासीले भोको पेट बस्नुपरेको गुनासो गर्नुभएको छ ।

मङ्गलबार गोरखापत्र समाचारदाता त्यहाँ पुग्दा टिनको टहरामुनि बस्दै आउनुभएका स्थानीयवासी ५५ वर्षीय पूर्ण कपालीले सोमबार बेलुका खाएको थिएँ अहिलेसम्म (मङ्गलबार दिनको ४ बजे कुराकानी गर्दा) केही खाएको छैन भन्ने बताए । वि. सं. २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले उनको घर भत्कियो, उनको बास त्यतिबेला वितरण गरिएका जस्ताको टहरामुनि हुँदै आएको छ । कपालीले म ग्यास बोक्ने तथा अन्य ज्यालादारी काम गरेर खान्थेँ, काम नपाएपछि अहिले आम्दानी छैन, केले किन्ने ? भने । सोही स्थानका ६१ वर्षीय हीराबहादुर खड्गी बिरामी पर्नुभएको लामो समय भएको छ ।

मुख्य सडकबाटै उहाँ सुतेको देखिन्छ र ओछ्यान वरिपरि झिँगा भन्केको दृश्य कारुणिक छ । उनी एक्लै बस्दै आएको छ र विवाह पनि गरेको छैन । उनको खुट्टा सुनिएका छन् । उनले मधुरो स्वरमा काम गर्न सक्दिनँ अरू परिवार छैनन्, कसले दिन्छ र खानु भनेर आफ्ना पीडा पोखे । उनको भूकम्पले भत्काएको घर अझै बन्न सकेको छैन । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्