Logo

कान्तिमा शङ्का गरिएका १४ बालबालिकामा कोरोना भाइरस देखिएन



काठमाडौँ, २१ चैत । कान्ति बाल अस्पतालमा कोभिड–१९ को शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती बालबालिकामा देखिएको रुघाखोकी, ज्वरो, निमोनियालगायतका स्वास्थ्य समस्या उपचारपछि निको भएर घरसमेत फर्किसकेका छन् ।

ती १४ मध्ये ११ नेपाली र तीन भारतीय बालबालिका रहेको अस्पतालले जनाएको छ । कोभिड–१९ का लक्षणसँग मिल्दा लक्षण देखिएपछि अस्पतालले ती बालबालिकाको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा स्वाब पठाएर परीक्षण गरेको थियो । नौ बालबालिकाका घरमा परिवारका सदस्य विदेशबाट फर्किएकाले शङ्का गरिएको अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताएका छन् । उनका अनुसार बिरामीका परिवार र आफन्तका बारेमा विस्तृत जानकारी लिइएको थियो । त्यस क्रममा यी बालबालिकाको परिवारका सदस्य विदेशबाट फर्किएपछि अरुको संसर्गमा नआई ‘क्वारेन्टाइन’ बसेको नपाइएको उनले बताएका छन् । उनले भने, “यी बालबालिका विदेशबाट आएका परिवारका सदस्यसँग चकलेट खाने, नजिक बस्ने पाइएकाले छुट्टै राखेर परीक्षण गरिएको हो ।”

शुरुमा आउँदा उनीहरुमा ज्वरो, खोकी, निमोनिया, श्वासफेर्न गाह्रोलगायतका समस्या पाइएको थियो । कोभिड–१९ का लक्षणसँग मिल्दा लक्षण भएकाले बालबालिका, अभिभावकसँगै अस्पताल आउन पनि डराएको उहाँले बताउनुभयो । उनले भने, “उनीहरुमा सङ्क्रमण नभएको पुष्टि भइसकेको छ र नयाँ बिरामी यस्तो लक्षणका आएका छैनन् ।”

सरकारको निर्देशानुसार अस्पतालले कोभिड–१९ का बिरामी आउन सक्ने भन्दै आवश्यक तयारी गरिसकेको छ । अस्पतालमा ‘आइसोलेसन बेड’ तयारी रहेको र यी बिरामीलाई हेर्न चिकित्सकलाई आवश्यक पर्सनल पोटेक्टिभ इक्युपमेन्ट ढपिपिई० तयारी रहेको अस्पताल निर्देशक डा पौडेलले जानकारी दिएका छन् । अस्पतालले विभिन्न निकायबाट आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री जोहो गरेको छ । यी पोशाक बिरामी हेर्नुपर्ने प्रथम प्राथमिकताका कर्मचारीले मात्रै प्रयोग गर्छन् । उनले भने, “कतिपय सरकारले दिएको हो भने कति हामीले खरिद गरेको र कतिपय दाताले सहयोग गरेका छन् ।”

अस्पतालले बहिरङ्ग विभाग वा आकस्मिक कक्षमा जता आएका बिरामीलाई पनि देखिएको लक्षण र उसको विस्तृत विवरणका आधारमा आवश्यक देखिँदा आइसोलेसनमा राख्ने गरेको छ । कुनै बिरामीका आफन्त कोभिड–१९ को सङ्क्रमण फैलिएको देशबाट आएको छ भने उसको विशेष निगरानी गरिन्छ । विदेशबाट आएकासँग नजिक रहेको कुरुवाले जानकारी दिएमा उसलाई ‘आइसोलेसन’ मा राखेर परीक्षण गरिन्छ । परीक्षणको नतिजा पोजेटिभ हुँदा थप उपचार हुन्छ भने नदेखिएमा उसमा देखिएका स्वास्थ्य समस्याको उपचार हुन्छ । यो १४ दिनबीच विदेशबाट परिवारका सदस्य आएको छ भने उसलाई कोभिड–१९ सँग मिल्दो लक्षण देखिँदा शङ्का गरिन्छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्