Logo

‘नेपालमा आइसक्यौं, किन फेरि भारत जाने’



काठमाडौँ, २१ चैत । नेपालगन्जको सीमा नाकामा अलपत्र नेपालीले भारतीय क्वारेन्टाइनमा जान अस्वीकार गरेका छन्। उनीहरूलाई बुधबार रातिदेखि उत्तर प्रदेशको बहराइच नानपारास्थित क्वारेन्टाइनमा पठाउन खोजिएको हो।

‘धेरै जना हुनेलाई सम्बन्धित जिल्लामा गाडी बोलाएर पठाउने हाम्रो तयारी थियो। नेपाल सरकारको नीतिअनुसार जताबाट आएका हुन् उतै फर्काउने निर्देशनले गर्दा पठाउन सकेनौं’, बिहीबार बिहान सीमा नाका जमुनाहा पुगेकी नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले भनिन्, ‘सीमामा अलपत्र परेकाहरू भने नेपाली भूमिमा आइसक्यौं, किन फेरि भारत जाने भनेर अडान लिइरहेका छन्।’

नेपालगन्जमा निर्माणाधीन नेपाल–भारत एकीकृत भन्सार जाँच चौकीछेउमै खुला चउरमा रहेका उनीहरूलाई बुधबार साँझ सम्बन्धित जिल्लामा पठाउने भन्दै जमुनाहामा ल्याइएको थियो। प्रधानमन्त्री कार्यालयको ठाडो आदेश भन्दै नाकामा रहेका नेपालीलाई झनै अलपत्र पार्ने काम भएको छ। दसगजा क्षेत्रमा बस्ने टेन्टको व्यवस्था भइरहेका बेला सरकारले त्यहाँ बस्न पनि अनुमति दिएको छैन।

जमुनाहा पुगेकी प्रदेशसभा सदस्य कृष्णा केसी ‘नमुना’ले सरकारले घर फर्किन नदिने भएपछि भारतीय पक्षलाई क्वारेन्टाइनमा राख्न आग्रह गरेको सुनाइन्। नेपालबाट प्रदेश सांसद नमुना, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरीका बाँके प्रमुख एसपी वीरबहादुर ओली, सशस्त्र प्रहरी बलका एसपी दीपक अधिकारी र भारतीय पक्षबाट बहराइच जिल्लाका डीएम शम्भुकुमार, एसपी विपिनकुमारबीच बुधबार राति छलफल भएको थियो। सीमामा रहेका नेपालीलाई आधा–आधा व्यवस्थापन गर्ने नीतिअनुरूप आधालाई भारतीय पक्ष नानपारास्थित क्वारेन्टाइनमा लैजान तयार भएको थियो।

‘हामीलाई गोली हान बरु भारतमा जान्नौं। क्वारेन्टाइनका लागि पैसाको अभाव हुन्छ भने हामी आफ्नै खर्चमा खाना खान तयार छौं’, अलपत्र नेपालीको भनाइ उद्धृत गर्दै सांसद नमुनाले भनिन्, ‘नेपाली भूमिमै क्वारेन्टाइन बनाएर राख्छौं भन्दा पनि नेपाल सरकारले जहाँबाट आएका हुन् उतै फर्काउने नीतिले हामीले व्यवस्थापन गर्न सकेनौं। गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयसँग पनि अनुरोध गर्‍यौं। सबैको जवाफ एउटै छ– नेपाल प्रवेश गर्न दिनुहुँदैन।’

नाकामा अलपत्र यात्रीको संख्या बढ्दो छ। बुधबारसम्म १ सय ६३ जना मात्र रहेकामा बिहीबार बिहानसम्म १ सय ८१ पुगेको छ। नेपालले दसगजामा बस्न नदिने र उनीहरू भारत जान नचाहेपछि झन बिचल्ली भएको छ। (अन्नपूर्ण पोष्टबाट)



प्रतिक्रिया दिनुहोस्