Logo

ओली-दाहालबीच फोनवार्ता, भ्रष्टाचार प्रकरणबारे छलफल गर्न भोलि सचिवालय बैठक



काठमाडौं, २१ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच फोनवार्ता भएको छ । पछिल्लो राजनीतिक परिस्थितिबारे सामान्य कुराकानीपछि अध्यक्ष दाहालले पार्टीको सचिवालय बैठक बोलाउनुपर्ने प्रस्ताव राखेका थिए ।

चीनबाट स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको कुरा उठेपछि सम्झौता रद्द गरिएको अवस्थाले राजनीतिक माहोल तातेको र मन्त्रीदेखि कर्मचारीको राजनीमाको कुरा पनि सामाजिक सञ्जालमा उठेपछि अध्यक्ष दाहालले सचिवालय बैठकको आवश्यकत्ता औंल्याएका थिए ।

प्रधानमन्त्री तथा अध्यक्ष ओली समेत पछिल्लो घट्नाक्रमबारे त्यति सन्तुष्ट छैनन् । स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको सामाचार धाराप्रवाह रुपमा आउन थालेपछि प्रधानमन्त्री ओलीले नै ठाडो निर्देशन दिएर उक्त सम्झौता रद्द गरिएको समेत बुझिएको छ ।

तर, सम्झौता रद्द गरेर मात्रै नहुने भन्दै यो प्रकरणमा जोडिएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चित्तबुझ्दो जवाफ दिनुपर्ने आवाज नेकपाका नेताहरुले उठाउन थालेका छन् ।

नेकपाका नेताहरुले यो प्रकरणमा गम्भिर त्रुटि भएको भनेर सरकारको आलोचना गरेका छन् । बालुवाटार स्रोतकाअनुसार सकेसम्म बैठक भोलि साँझसम्म बोलाउने तयारी छ । तर, यदि भोलि नै सम्भव नभए चैत्र २३ गते आईतबार भने बस्ने पक्कापक्की भएको छ ।



प्रतिक्रिया दिनुहोस्