Logo

सामाखुशी क्षेत्रका २९७ परिवारलाई खाद्यान्न वितरण



काठमाडौं, २१ चैत्र । काठमाडौँ महानगरपालिकाले गोँगबु सामाखुशी क्षेत्रका २९७ घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ । काठमाडौँ महानगरपालिका–२६ वडाले विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई ध्यान दिएर सरकारले लकडाउन गरेपछि दैनिक मजदूरी गर्दै आएका विपन्न परिवारलाई राहत वितरण गरेको हो ।

काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले २६ वडामा बसेर दैनिक मजदूरी गर्दै आएका विपन्न २९७ परिवारलाई खाद्यान्न सहयोग गरेको जानकारी दिए । खाद्यान्न राहत लिनेमा ठमेल, लैनचौर, नयाँ बसपार्क, म्हैपी, रानीबारी क्षेत्रमा बसेर मजदूरी गर्ने रहेका छन् । वडाले उनीहरुलाई चामल, दाल, आलु, नुन, तेल, प्याज र च्यूरा वितरण गरेको हो ।

सरकारले लकडाउन गरेपछि काठमाडौँ महानगरपालिकाले आजदेखि राहत मापदण्ड तयार गरी ३२ वटै वडामा कार्यरत गरिब तथा मजदूर किसानलाई राहत वितरण गर्दै आएको छ । यसैगरी, काठमाडौँ महानगरपालिका–१६ ले ५०० घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ ।

काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले बिहीबार ३०० र आज २०० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको जानकारी दिनुभयो । काठमाडौँ १६ वडाले जनजाती टोल बालाजु, बाइपास, वनस्थली क्षेत्रमा खाद्यान्न वितरण गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्