Logo

सरकार असफल भयो, अब मध्यावधि चुनाव हुनुपर्छ : डा. महत (भिडियोसहित)



काठमाडौं, २२ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । शनिबार अपरान्ह प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “कोरोनाको महामारी : प्राईमको खबरदारी” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता महतले यस्तो बताएका हुन् ।

डा. महतले स्वास्थ्य सामग्री खरिद सम्झौता रद्द भयो भन्दैमा आफ्नो पार्टी चुप लागेर नबस्ने समेत चेतावनी दिए । उनले भने,”कांग्रेस चुप लाग्दैन् । जनता चुप लाग्दैनन् । र, यो सरकार सबै…यस्तो बेलामा यस्तो दुःखद् अवस्थामा, यस्तो संक्रमणको अवस्थामा । जनता चाहीँ अब जागिर छैन् । ज्यालादारीले ज्याला गर्न पाएका छैनन् । घरघरमा छन् । यस्तो अवस्थामा पनि कमाउनुपर्छ यो चाहीँ अवसर हो भनेर सोच कसैले राख्दछ भने त्योभन्दा दुर्भाग्यपूर्ण र त्योभन्दा तल्लोस्तरको काम केही हुन्छ ऋषिजी ? हुनैसक्दैन् । अब हुँदाहुँदै आर्मीलाई दिने कुरा भएको छ । हाँस्दै…सरकारले यो पनि आर्मीले गरेपछि प्रश्न उठ्दैन भनेर गर्न खोजेको त होईन ? यो सरकार सिभिलियन गभर्मेन्ट के अब काम गर्न नसक्ने असक्षम ? यो सरकारले त अब राजीनामा दिनुपर्छ । मलाई त लाग्छ यो चाहीँ यो संक्रमण सकिएपछि, यो चाहीँ के छ भने यसबाट पार पाईसकेपछि अब त देश त मध्यावधि चुनावमा जानुपर्छ, यिनीहरुले अब हामीले सकेनौं भनेर भन्नुपर्छ ।”

मध्यावधि निर्वाचन कांग्रेसको माग हो भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा महतले भने,”यो चाहीँ मेरो व्यक्तिगत धारणा हो । मेरो व्यक्तिगत धारणा त के हो भने ओलीजीले राजीनामा दिएर उहाँको ठाउँमा आर्को कम्युनिष्ट पार्टीको अरु नेता आएपनि उहाँहरुको पनि अहिले चाहीँ जसले बागडोर लिएका उपप्रधानमन्त्रीलगायतका सबको देखिसकियो, ओलीजी सक्रिय हुँदापनि धेरै कुरा बिग्रिएको थियो । अहिले बिरामी भएर निस्क्रिय पर्दामा हुँदापनि अरु सञ्चालन गर्नेहरुको पनि त्यही हालत देखियो । त्यसकारण अब यो कम्युनिष्ट पार्टीले त के छ भन्देखी अब देशको जनतालाई ओलीजीको ठाउँमा अरु कोही भएर अब देश चल्ला भन्ने विश्वासनै छैन् ।”

जनताले पाँच वर्षको लागि यो सरकारलाई जिताएर पठाएका हुन्, तपाईहरु केपी ओलीको किन विरोध गर्नुहुन्छ ? किन राजीनामाको कुरा गर्नुहुन्छ ? किन मध्यावधिको कुरा गर्नुहुन्छ ? डा. महत भनेर धमलाले सोधेको प्रश्नमा उनले भने,”हामी त पाँच वर्ष यसले चलाओस भन्ने चाहन्थ्यौं । जनताले जे भएपनि उहाँले प्रचार गर्नुभयो । प्रचारको प्रभावमा परेर जनताले पनि मतदान दिए । केही गरिहाल्लान् कि ? भई हाल्ला कि भनेर ? राम्रै गर्लान् कि ? कुरो त मिठै गर्याछन् । कुरो अनुसार कामपनि गर्लान् कि भनेर पूरा बहुमत दिएर जिताएर पठाएका हुन् । तर, दुर्भाग्यवश जनता निराश हुनुपरेको अवस्था छ । अहिले यस्तो आपतकालको अवस्थामा पनि उहाँहरु सुध्रेको अवस्था छैन् । जुन अहिले चाहीँ यसको हालीमुहाली जुन चाहीँ बागडोर सम्हालेको जुन चाहीँ संयन्त्र छ, उपप्रधानमन्त्रीको नेतृत्वमा उनले समेत छताछुल्ल भएको अवस्थामा मैले के भनिरहेको छु भने उहाँबाट अब आशा गर्ने ठाउँ बाँकी छैन् ।”

त्यस्तै, उनले स्वास्थ्य सामग्री खरिद प्रकरणमा ठूलो घोटाला भएको भन्दै यो प्रकरणमा मुख्य जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोरखरेलले लिनुपर्ने बताए । उनले उपप्रधानमन्त्री पोखरेलले तत्काल राजनीमा दिनुपर्ने माग गरे । उनले भने,”यदि राजीनामा दिएनन भने हामी आन्दोलन गर्छौं । उहाँ कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको संयोजक भएको नाताले उहाँले जिम्मेवारी लिनुपर्छ ।” कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन लगाएको राम्रो भन्दै यसको समयावधि थप्नुपर्ने समेत उनले सुझाव दिए ।



प्रतिक्रिया दिनुहोस्