स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार नभएको प्रधानमन्त्रीको निश्कर्ष, अनावश्यक विवाद सिर्जना गरियो !


काठमाडौं, २२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सामग्री खरिद प्रकरणमा कुनैपनि भ्रष्टाचार नभएको निश्कर्ष निकालेका छन् । आज साँझ बसेको मन्त्रिपरिषदका बैठकमा प्रधानमन्त्री ओलीले उक्त खरिद प्रक्रियाबारे आफू जानकार रहेको र खरिदमा कुनै भ्रष्टाचार नभएको निश्कर्ष सुनाएको स्रोतले जनाएको छ । उनले यो प्रकरणमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई अनावश्यक विवादमा ल्याउन खोजिएको भनेर समेत असन्तुष्टि पोखेका थिए ।

चीनबाट स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य सेवा विभागले ओम्नी समूहसँग सम्झौता गरेको थियो । सम्झौता मुताविक एक चरण सामग्रीसमेत ल्याएको थियो । तर, पहिलो चरणमै गुणस्तरहिन र तुलनात्मक रुपमा धेरै गुणा महँगो सामग्री ल्याएपछि सरकारको कदमको चौतर्फी आलोचना र विरोध भएको थियो । पछि, विभागले सामग्री ल्याउने भनेर सम्झौता गरेको कम्पनीको पाँच करोड धरौटीसमेत जफत हुनेगरि सम्झौता रद्द गरेको थियो ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि उच्च सतर्कता अपनाएर काम गरेको र सरकार सही बाटोमा रहेको पनि प्रधानमन्त्री ओलीले विश्वास दिलाएका थिए । उनले जनस्वास्थ्यको विषयमा गम्भिर भएर आ आफ्नो जिम्मेवारीमा खरो उत्रिन मन्त्रीहरुलाई निर्देशन दिएका थिए । सरकारले कोरोना रोकथामको लागि यही चैत्र २५ गतेसम्म लकडाउन लगाएको छ । यो अवधिमा सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरु र निर्देशनहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्न र गराउन मन्त्रीहरुलाई उनको निर्देशन थियो । आजको बैठकमा लकडाउनको अवधि बढाउनेबारे समेत छलफल भएको बुझिएको छ ।