Logo

कोरोनासँग जुध्न सहकार्य गर्न तयारः विप्लव



काठमाडौं, चैत २३ । प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द (विप्लव) समूहले कोरोना रोकथाम गर्न र जनतालाई आस्वस्त पार्ने काममा सरकार असफल भएको आरोप लगाएको छ। पार्टी महासचिव चन्दले शनिबार वक्तव्य जारी गदै प्रकोप रोकथामका लागि सरोकारवाला सबैसँग सहकार्यका लागि तत्पर रहेको पनि जनाएका छन्।

‘नेपालको सामाजिक दलाल पुँजीवादी सरकारको चरम लापरबाही, कमिसनखोरी, दलाली प्रवृत्तिका कारण पर्याप्त पहलकदमी लिन सकेन जसको कारणले लाखौं नेपाली नागरिकहरूले विविध खालका समस्याहरू भोग्नु परिरहेको छ,’ चन्दले वक्तव्यमार्फत आरोप लगाए। उनले यस महामारीसँग जुध्नका लागि सरकारलाई १६ बुँदे सुझाव र आफ्नो पार्टीले गर्ने ६ बुँदे कार्यसूची पनि वक्तव्यमार्फत प्रस्तुत गरेका छन्।

यो पार्टीलाई सरकारले २०७५ फागुन २८ यता प्रतिबन्ध लगाउँदै आएको छ। विश्वव्यापी कोरोना संक्रमण महामारीको रूपमा फैलन थालेपछि यसअघि उक्त पार्टीले आफ्नो तर्फबाट संर्घषका कारबाही तत्काललाई स्थगन गरेको बताएको थियो। शनिबार उसले यस महामारीसँग जुध्न सबैसँग सहकार्य गर्न तयार रहेको बताएको हो। ‘कोरोना भाइरसविरुद्धको संघर्षमा सबै शक्तिसँग पनि सहकार्य गर्न हाम्रो पार्टी तयार छ,’ चन्दले भनेका छन्, ‘पार्टी कार्यकर्ता र जनसेनाहरू हाल आफ्नो क्षेत्रबाट कोरोना भाइरसविरुद्धको संघर्षमा सहभागी बनिरहेका छन्। आउँदा दिनमा यसलाई अरू व्यवस्थित प्रकारले जनचेतना फैलाउने, विश्व स्वास्थ्य संगठनले निर्देशित गरेका मान्यताहरूलाई जनतामा पुर्‍याउन र जनतालाई उपचारमा सहयोग गर्नेछ।’अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्