Logo

भ्रष्टाचारको भण्डाफोर गर्ने पूर्व सचिव भीम उपाध्यायलाई सचिव कोइरालाले अपराधी भनेपछि…



काठमाडौं, २३ चैत्र । स्वास्थ्य मन्त्रालयका सचिव यादव प्रसाद कोइराला र पूर्व सचिव भीम उपाध्यायबीच आरोप प्रत्यारोप चलेको छ । पूर्व सचिव उपाध्यायले सचिव कोइरालालाई भ्रष्टाचारको आरोप लगाएपछि उपाध्यायलाई अपराधीको संज्ञा दिएका छन् ।

आफूलाई अपराधीको संज्ञा दिएपछि उपाध्यायले सामाजिक सञ्जालमा पदमा बसेपछि जिम्मेवारी पूरा गरेर बस्न चुनौती दिएका छन् । उनले लेखेका छन, ‘स्वास्थ्य सचिवको आक्रोश, पदीय जिम्मेवारी पूरा गरेर ३ करोड जनतालाई स्वास्थ्य सुरक्षा दिए पुग्यो। अरूसंग पैठाजोरी खेलेर आफ्नो काम अरूले गरिदिने हैन क्यारे। ३ करोडले के भनिरहेका छन् त्यता चिन्ता लिने हो पदमा बसेपछि।’

शनिबार उपाध्यायले ट्वीट गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र प्रसाद श्रेष्ठ पदबाट हटे अचम्म नमाने हुने लेखेका थिए । यस्तो अवस्था नभए सिंगो क्याबिनेट नै पदमुक्त हुन वाध्य हुने लेखेका थिए ।

त्यसको जवाफमा सचिव यादव कोइरालाले पूर्व सचिव भीम उपाध्यायलाई मेलम्चीमा भ्रष्टाचार गरेको आरोप लगाए । उनले कोठामा बसेर चरित्र हत्या नगर्न चेतावनी समेत दिए ।

पूर्व सचिव उपाध्याय पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनले विभिन्न घटनाहरुको भण्डाफोर गर्दै आएका छन् । स्वास्थ्य सामाग्री खरिदमा महङ्गो मूल्यमा सामान ल्याइँदैछ भन्ने खुलासा उनले गरेका थिए ।

उपाध्यायले प्रिन्टिंग प्रेस काण्ड, सेटेलाइटकाण्ड, स्कुल कम्प्युटराइजेसन काण्ड, फोरजी लाइसेन्स काण्ड, लाइसेन्स प्रिन्टिंग काण्ड, वाइडबडी काण्ड, इम्बोस नम्बर प्लेट काण्ड, गुठी काण्ड, गोकर्ण रिसोर्ट काण्ड, यती ग्रुप काण्ड, मेडिकल सामाग्री खरिद काण्ड सबै जसो पूर्व एमाले मन्त्रालयहरुमा भइरेहेकोमा प्रश्न उठाएका थिए ।



प्रतिक्रिया दिनुहोस्