Logo

प्रहरीमा १९ डिआइजीको दरबन्दी कटौती गरी बढुवाको तयारी



काठमाडौं, २३ चैत्र । नेपाल प्रहरीमा १९ डिआइजीको दरबन्दी कटौती हुने भएको छ । हाल रहेको ३४ डिआइजीको दरबन्दी घटाएर १५ कायम गरी बढुवा गर्ने गरी गृह मन्त्रालयले प्रक्रिया बढाउने भएको छ ।

डिआइजीको दरबन्दी घटाउने गृहको कदममा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवाली असन्तुष्ट भएपछि रोकिएको थियो । तर, गृह अडानबाट पछि हटेन । मध्यमार्गी बाटोबाट केही डिआइजीको दरबन्दी कायमै गरी १५ कायम गर्ने गरी तयारी बढाइएको विश्वस्त स्रोतले बताएको छ ।

३४ डिआइजीको दरबन्दीमा हाल २२ दरबन्दी खाली छ । १० जनामात्र डिआइजी रहेकोमा अब पाँचको मात्र बढुवा हुनेछ । पाँच खाली दरबन्दीमा वर्तमान एआइजीहरु शैलेश थापा क्षेत्री र हरि बहादुर पालका अलावा डिआइजी विश्वराज पोखरेलको ब्याची पनि प्रतिष्पर्धामा छन् । पोखरेल पछिको ब्याची पनि डिआइजी बन्न दौडधुपमा थिए । तर, दरबन्दी घटेपछि उनीहरुको सम्भावना कमजोर बन्न पुगेको छ । प्रहरीमा प्रायः जेष्ठतालाई ध्यानमा राखेर बढुवा गर्ने प्रचलन रहँदै आएको छ ।

प्रहरीमा अघिल्लो ब्याचीका गणेश ऐर, घनश्याम अर्याल, वसन्त कार्की, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, पुरुषोत्तम कंडेल, राजेशलाल कर्ण, देवबहादुर बोहरा र दिलिप चौधरी नै बाँकी छन् । त्यसपछिका ब्याचीबाट धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, दिवेश लोहनी र वसन्त लामालगायत बाँकी छन् । त्यसपछिको ब्याचीबाट एसएसपीहरु सहकुल थापा, रवीन्द्र धानुक, सौरभ राणा, उमेश रञ्जितकार, अरुण बीसीलगायत आकांक्षी छन् ।

एआइजीमा वर्तमान आइजीपीका ब्याची तारणी दत्त लम्सालसहित पछिल्लो ब्याचीबाट शैलेश थापा क्षेत्री र हरिबहादुर पालको बढुवा भइसकेको छ । उनीहरुको बढुवापछि तीन डिआइजीको दरबन्दी समेत खाली भएको छ । तर, डिआइजीको दरबन्दी घटाउने गृहको तयारीले अलमल भइरहेको छ । अब यसै हप्ताभित्र यसको टुंगो लाग्ने गरी तयारी भएको बुझिएको छ ।

प्रदेशमा सात, महानगरीय प्रहरी रानीपोखरीमा एक, सीआइबीमा एक, विमानस्थलमा एक, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा एक, सचिवालयमा एक र बाँकी तीन गरी १५ दरबन्दी भए पुग्ने गरी गृहमन्त्रालयको संगठन तथा व्यवस्थापन सवेक्षण समितिले टुंगो लगाएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्