Logo

महामारीमा महाकाण्डले सरकारमा कम्पन, ओली इतर गुटको यस्तो छ तयारी



काठमाडौं, २३ चैत्र । नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रभावशाली नेताहरुले मोर्चाबन्दी गरेका छन् । देश महामारीमा जुधिरहँदा सरकारबाट स्वास्थ्य सामाग्री खरिदमा गम्भीर त्रुटी भई अनियमितताका विषयहरु सार्वजनिक भएपछि ओली इतरका नेताहरुले छुट्टै छलफल गरी नयाँ कदम चाल्न मोर्चाबन्दी गरेका हुन् ।

विश्वस्त स्रोतका अनुसार सचिवालय सदस्यहरुमध्ये केहीले द्धिपक्षीय भेट गरी छलफल गरेका छन् केहीले टेलिफोनमार्फत् छलफल गरी आगामी रणनीतिको टुंगो लगाएका छन् । नेताहरुले कुराकानी गरेर आगामी रणनीति टुंगो लगाएसँगै वरिष्ठ नेता झलनाथ खनालले तत्काल सचिवालय बैठक डाक्न सार्वजनिक रुपमै आग्रह गरेका छन् । बैठक डाकेमा सरकारले स्वास्थ्य सामाग्री खरिदमा गरेको त्रुटीको समिक्षाका अलावा बाहिर आएको अनियमितताको विषयबारे पनि छलफल गर्ने तयारी ओली इतरका नेताहरुको छ ।

सप्रमाण स्वास्थ्य सामाग्री खरिदमा गम्भीर त्रुटी भएको सार्वजनिक भइसक्दा पनि नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले बचाऊ गर्न खोजेको भन्दै अन्य सचिवालय सदस्यहरु असन्तुष्ट भएका छन् । यसबारे सचिवालयमा स्पष्ट पार्नुपर्ने गरी बैठक बोलाउनुपर्नेमा अन्य सचिवालय सदस्यहरु एकमत भएको बुझिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य सामाग्री खरिद प्रकरणमा पार्टी नै बदनाम हुने अवस्था बनेको भन्दै निकटस्थहरुसँग चिन्ता व्यक्त गर्न थालेका छन् । महामारीसँग जुध्न सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमलगायतका नेताहरु असन्तुष्ट छन् । ओली र पोखरेलप्रति निकै असन्तुष्ट रहँदै आएका उपाध्यक्ष वामदेव गौतमले कडा कदम चालेर बढ्नुपर्नेमा जोड दिइरहेको बुझिएको छ । पछिल्लो समय मौन बसेका गौतमले यसअघि नै कडा कदम चाल्ने चेतावनी ओली निकटस्थलाई भनेका थिए ।

सचिवालयमा ओली र ईश्वर पोखरेल मात्र एकातर्फ हुँदा बाँकी सदस्य अर्कातर्फ बनेका छन् । विष्णु पौडेल मध्यमार्गी देखिएका छन् । तर, उनी पनि विस्तारै ओलीबाट टाढिंदै गएका छन् ।

मृगौला प्रत्यारोपणपछि समाजिक दूरी कायम गरेर बालुवाटारमा रहेका ओलीलाई निकटस्थहरुले गुमराहमा पारेको विषय पनि नेकपाभित्र उठिरहेको छ । तर, ओलीले औषधी खरिद काण्डमा कसैमाथि कारबाही नगरी बचाऊ गरेपछि प्रभावशाली नेताहरु उनीप्रति निकै असन्तुष्ट भएको बुझिएको छ । यसबारे सचिवालय बैठकमा राखी निर्णायक विषयमा छलफल गर्ने निष्कर्षमा ओली इतरका नेताहरु पुगेको एक सचिवालय सदस्यले रिपोर्टर्स नेपाललाई बताए । उनले भने, अब व्यक्ति विशेषका कारण पार्टीको छवि बिग्रन नदिनका लागि कठोर निर्णयमा पुग्नुपर्ने हुन्छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्