Logo

कोरोनाको उच्च जोखिममा युरोपका नेपाली



काठमाडौँ, २४ चैत । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको उहान शहरबाट शुरु भएको कोरोनाको सङ्क्रमण पछिल्लो समय युरोप र अमेरिकामा तीव्ररूपमा फैलिरहेको छ ।

इटाली, स्पेन, फ्रान्स, बेलायत, पोर्चुगललगायतका युरोपेली मुलुकहरुमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै युरोपमा रहेका नेपालीहरु उच्च जोखिममा परेका हुन् । कोरोनाका कारण युरोपमा मानवीय क्षति बढ्दै गएपछि त्यहाँ रहेका गैरआवासीय नेपालीमा थप सङ्कट निम्तिन सक्ने खतरा बढेको छ ।

कोरोनाको महामारीका कारण युरोपमा रहेका धेरै नेपाली रोजगारविहीन भएका छन् भने दैनिकीसमेत कष्टकर बन्दै गएको छ ।कोरोना सङ्क्रमणका कारण युरोपमा मात्रै ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । लाखौँ मानिस प्रभावित भएका छन् । यसको महामारीबाट विश्वमै सबैभन्दा बढी मानवीय क्षति युरोपमा भएको छ । पछिल्लो समय बढी सङ्क्रमण अमेरिकामा देखिएको छ ।

यो समाचार तयार पार्दासम्म विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वभरका २०८ मुलुकमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । हालसम्म विश्वभर १२ लाख एक हजार ९६४ सङ्क्रमित भएको र ६४ हजार ७२७ को ज्यान गएको वल्र्डोमिटरर्सको तथ्याङ्कले देखाएको छ । तीमध्ये दुई लाख ४६ हजार ६३८ उपचारपछि घर फर्केका छन् । पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण सबैभन्दा बढी इटालीका नागरिकको ज्यान गएको छ । त्यहाँं हालसम्म १५ हजार ३६२ को मत्यु भइसकेको छ भने एक लाख २४ हजार ६३२ जना सङ्क्रमित भएको तथ्याङ्क छ । बीस हजार ९९६ उपचारपछि निको भई घर फर्केका छन् । (खसोखासबाट)



प्रतिक्रिया दिनुहोस्