Logo

न्युयोर्कमा १५ दिनको अन्तरालमा ४ नेपालीको निधन, नेपाली समाज स्तब्ध



न्यूयोर्क, २४ चैत । न्युयोर्कमा १५ दिनको अन्तरालमा ४ नेपालीको निधनको खबरले न्युयोर्कको नेपाली समाज स्तब्ध भएको छ । दुईसाता अगाडि अनिल लिम्बुको मृत्यु भएकोमा हिजोमात्रै थप तीनजना नेपालीको मृत्युको खबर आएको थियो ।

हिजो नेवा नख न्युयोर्कका सल्लाहकार न्युयोर्क निवासी अजयमान छोंचुँको उपचारका क्रममा निधन भएको हो । छोंचुँको एल्महस्र्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अजयमान छोंचुँ केहीदिन अगाडि अर्जेन्ट केयरमा गएर चेकजाँच गर्दा ब्याक्टेरियल निमोनिया देखिएपछि उनलाई एल्महस्र्ट अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो । हिजो दिउसो ४ बजेतिर अस्पतालमा नै निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

झण्डै दुईसाता अगाडि परीक्षण गर्दा छोंचुँ र उनकी श्रीमतिमा कोरोना नेगेटिभ देखिएको थियो । फ्युनेरल होम बुक गरेर अस्पतालबाट शव लैजान अस्पतालले सुझाव दिएको छ । कोरोनाको महामारीका कारण सबैघरभित्र बसिरहेकाले दाहसंस्कारमा परिवारका सदस्यहरु उपस्थीत हुने नहुनेमा अन्यौल उत्पन्न भएको छ ।

छोँचुँ न्युयोर्कको क्वीन्स ग्रयाण्ड एभिन्युमा श्रीमतिसँगै बस्दै आएका थिए भने उनका छोराबुहारी पनि न्युयोर्कमा नै बस्दै आएका छन् ।

त्यस्तै न्युयोर्कमा बस्दै आएका मुस्ताङका दुईजना नेपालीको निधन भएको खबर पनि सार्वजनिक भएको छ ।

झण्डै २० बर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको  सन्नीसाइडमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो ।  बिष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।

विष्टको शुक्रबार विहान ९ बजे घरमै निधन भएको र बेलुका ६ बजेतिर  प्रहरी र मेडिकल टिम आएर शव लगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि बिष्ट सीटीएमडीमा उपचारका लागि गएका थिए । त्यसपछि उनलाई घरमै आराम गरेर बस्न भनिएको थियो ।

तर उनी अलिक गाह्रो भएपछि माउन्ट साइनाई अस्पतालमा समेत गएका थिए । अस्पतालले एक्सरे गरेपछि फोक्सोमा समस्या रहेको बताएको थियो । तर अस्पतालले भर्ना लिन नमानी घरमै आराम गर्न भनेको र केहीदिनमा रिपोर्ट दिने बताएको थियो । रिपोर्ट नआउँदै बिष्टको निधन भएको छ । बिष्ट मुस्ताङका राजाका समेत नजिकका आफन्त हुन् ।

बिष्ट ४८ बर्षका  थिए । बिष्टका दुईवटा छोरा र श्रीमति नेपालमा बस्दै आएका छन् । बिष्ट २० बर्षदेखि अमेरिकामा बस्दै आएका थिए भने र अमेरिका आएदेखि नै कागजपत्र नभएका नेपाल फर्कन सकेका थिएनन् । छेपक दोर्जे गुरुङले भने – ‘कागजपत्र नभएका कारण सधैका लागि नेपाल जाने बताउँदै थिए । दुईसाता अगाडिमात्र मेरो भेटघाट भएको थियो । परिवारलाई भेट्नै नपाई बिते ।’

बिष्टको मृत्यु कोरोनाले भएको हो वा अन्य कारणले भन्ने थप रिपोर्ट आउन बाँकी छ । केहीदिनपछिमात्र शव कसरी दाहसंस्कार गर्ने भन्ने टुंगो लाग्नेछ ।

त्यस्तै मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामाको पनि  मृत्यु भएको जनाइएको छ । अन्दाजी ४० बर्षका उनको मृत्यु बस्दै आएको कोठाभित्रै भएको जनाइएको छ । जमैकामा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी रहेको बताइएको छ ।

उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ । झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ ।

उनको शव मेडिकल टिम र प्रहरीले लगेर गएको छ । उनी आफ्ना कुनै आफन्तको सम्पर्कमा नभएका कारण त्यसपछिको अवस्था अज्ञात रहेको छ ।

एकैदिनमा ४ जनाको मृत्युको खबरले न्युयोर्कको नेपाली समाजमा चिन्ता र तनाव बढेको छ । न्युयोर्कका नेपालीहरुले सामाजिक सञ्जालमाफर्त उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

यसरी न्युयोर्कमा १५ दिनको अन्तरालमा ५ जना नेपालीको निधन भइसकेको छ । गत मार्च २४ मा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० बर्षिय अनिल लिम्बुको मृत्यु भएको थियो । आफन्तको उपस्थीतिविनै लिम्बुको दाहसंस्कार गरिएको थियो ।-(खसोखास बाट)



प्रतिक्रिया दिनुहोस्