Logo

लुकीछिपी नेपाल आउनेक्रम जारी



काठमाडौँ, २४ चैत । सुदूरपश्चिम क्षेत्रमा भारतसँग जोडिएको खुला सीमाको फाइदा लिँदै अझै लुकीछिपी नेपाल आउनेक्रम रोकिएको छैन । लकडाउन र सीमानाका बन्द गरिएको भए पनि सबैभन्दा बढी दार्चुला क्षेत्रबाट नेपाली लुकेर आउने गरेका छन् ।

फाटफुट्ट रूपमा कैलाली, कञ्चनपुर, बैतडी र डडेलधुराका सुरक्षा नभएका ठाउँबाट नेपाल आउनेक्रम चलिरहेको छ । दार्चुला समाचारदाताका अनुसार नेपाल सरकारले देशभरि लकडाउन, सीमा बन्द गर्नुका साथै एक स्थानीय तहबाट अर्को स्थानीय तहको आवतजावतमा समेत कडाइ गर्ने निर्णय गरेको बेला भारतबाट चोरबाटो हुँदै दार्चुला भित्रिनेक्रम रोकिएको छैन । प्रहरीको तथ्याङ्कअनुसार चैत १७ गतेदेखि व्यास, खलङ्गा, जौलजिबी, लालीलगायत स्थानबाट महाकाली तरेर ८५ जना नेपाली मजदुर भारतबाट दार्चुला आएका छन् ।

आइतबारमात्रै लालीबाट बैतडीको दोगडाकेदार गाउँपालिका–१ रिमका चारजना चार हजार रुपियाँ तिरेर ट्युबबाट महाकाली तर्दै लेकम गाउँपालिका हुँदै गाउँ फर्किएका छन् । प्रहरीको सम्पर्कमा नआएर दैनिक सयौँ मानिस भारतको उत्तराखण्डबाट गाउँ फर्किरहेका छन् । उत्तराखण्डमा पनि कोरोना सङ्क्रमण देखापरेको छ । यस्तो अवस्थामा पनि नेपाली नेपाल आउनु जोखिम हुने भन्दै स्थानीयहरू चिन्तित छन् । दार्चुलामा झन्डै एक हजार पाँच सयजना भारतबाट घर फर्किएकोमा २१५ जनामात्रै क्वारेन्टाइनमा बसेका छन् ।
सात जनाको रिपोर्ट नेगेटिभ
धनगढी समाचारदाताका अनुसार धनगढीका कोरोना सङ्क्रमित व्यक्तिको परिवारका सातजना सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
सङ्क्रमित व्यक्तिका श्रीमती, छोरी, आमाबुवा, दाजु र दाजुको दुई सन्तानहरूको रिपोर्ट नेगेटिभ आएको हो । दुबईबाट फर्किनुभएका ती व्यक्तिमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि परिवारका बाँकी आठ र सम्पर्कमा आएका दुईजना आफन्त गरी १० जनाको थ्रोट स्वाब परीक्षणका लागि पठाइएको थियो ।

परीक्षण गरिएको परिवारका आठ सदस्यमध्ये सङ्क्रमितको भाउजूलाई कोरोना पोजेटिभ रहेको रिपोर्ट शनिबार नै आइसकेको छ ।
परिवारका बाँकी सातजना सदस्यमा भने कोरोनो सङ्क्रमण नरहेको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिएका छन् । उनका अनुसार दुईजना आफन्तको रिपोर्ट भने आउन बाँकी रहेको छ । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्