Logo

सरकार परिवर्तन र मध्यावधीको कुरा गर्ने बेला होइन- रमेश लेखक, नेता, नेपाली कांग्रेस



काठमाडौं, २४ चैत्र । नेपाली काँग्रेसका नेता रमेश लेखक पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र पनि हुन् । सुदूरपश्चिम गृह प्रदेश भएका लेखकले कोरोना भाइरसविरुद्धको लडाईंमा सिंगो देश एक हुनुपर्ने बताएका छन् । अहिले कुनैपनि राजनीतिक विषय अप्रासंगिक हुने उनको भनाई छ । लेखकसँग यीनै विषयमा ऋषि धमलाले गरेको कुारकानीः
कोरोना भाइरस नियन्त्रणको लागि सरकारले चालेको कदम प्रभावकारी छ कि छैन ?
पहिला कुरा सरकारले जसरी देशब्यापी रुपमा लकडाउनको कुरा गरेको त्यो एकदमै सकारात्मक हो । अझ पछिल्लो समय सरकारले एक गाउँ या नगरपालिकाबाट अर्कोमा जान नपाउने निर्णय गरेको छ । त्यो पनि राम्रो हो । यसलाई कडाका साथ पालना गर्नुपर्छ र हामीहरुले पनि एकान्तवासमा बस्ने बढी भीडभाडमा नजाने गर्नुपर्छ । हामीले पनि घरायी काम गर्दा पनि सजगताका साथ गर्नुपर्छ । त्यसकारण सरकारले गरेका केही निर्णयहरु ठीक छन् । अहिलेको अवस्थामा सबैजना एकजुट भएर सरकारले गरेका सकारात्मक काममा समर्थन गरेर सहयोग गर्दै अगाडि बढ्नुपर्छ ।
सरकारले सबै काम राम्रो गरेको छ भन्ने नेपाली कांग्रेसको निष्कर्ष हो ?
त्यस्तो विलकुलै होइन । केही सकारात्मक हुँदाहुँदै धेरै र मुख्य कुराहरुमा कमीकजोरीहरु छन् । हिजो पनि कमीकमजोरी थियो आज पनि छ । त्यसलाई सुधारेर जान जरुरी छ । पहिलो कुरा त विश्वस्वास्थ्य संगठनदेखि सम्बन्धित निकायले भनेका थिए कि सबैभन्दा सजिलो काम लकडाउन हो त्यो निर्णय गरिदियो सबै मान्छेलगायत हामी लकडाउनमा बसेकै छौं । अर्को कुरा ‘बढीभन्दा बढी मानिसको परीक्षण गर’ भनेको छ । त्यसमा हाम्रा त्यन्तै कमजोरी रहेको छ । ज्यादै कम जाँचहरु भएका छन् । त्यो अत्यन्तै डरलाग्दो स्थिति हो । तेस्रो कुरा गुणस्तरीय सामाग्रीहरुको ज्यादै अभाव छ । जाँच गर्ने मेसिनहरु कम छन् । अरु किटलगायत चिकित्सका लागि आवश्यक सामाग्रीहरुको कमी छ । अर्को ओम्नी कम्पनीले ल्याएका सामाग्रीमा विवाद आयो । पछि आएर त्यसलाई रद्द गरियो । ल्याइएका सामान पनि गुणस्तरहीन छन् भनिएको छ । त्यसैगरी जसरी सुरक्षाकर्मीहरु फिल्डमा खटिराखेका छन् । उनीहरुको व्यक्तिगत सुरक्षाका सामाग्रीहरु छैनन् । त्यसकारण हामीले राख्नुपर्ने जति मानिसहरुलाई क्वारेन्टाइनमा पनि राख्न सकेनौं । त्यसको व्यवस्थापन पनि राम्रो हुन सकेन । जसरी भारतलगायत विदेशबाट आएका मानिसहरुलाई कडाईंका साथ क्वारेन्टाइनमा राख्नुपर्ने थियो । त्यो हुन सकेको छैन ।
क्वारेन्टाइनमा राख्न त तपाईंहरुले नै विरोध गर्नुभयो नि भारतबाट सबै नेपाली ल्याउनुपर्छ भनेर तपाईं नै भनिरहनुभएको थियो ?
हामीले क्वारेन्टाइनमा राख्न कहीं विरोध गरेका छैनौं । हामीले त भारतबाट सीमानामा आएर अलपत्र परेका मान्छेहरुलाई देशभित्र ल्याउनुहोस् र उनीहरुलाई कही उम्किन नदिएर क्वारेन्टाइनमा राख्नुस् । र उनीहरुको उपयुक्त ढंगले स्वास्थ्य परीक्षण गर्नुहोस् । आफ्ना नागरिकहरुलाई सीमानामा बिचल्ली नपार्नुहोस् व्यवस्थापित गर्नुहोस् भनेका हौं । त्यो कुरा गलत हो र ? त्यो त हामीले मात्रै भनेको होइन सबैले भनेका छन् । मानिस त समस्या परेर आत्तिएपछि घरमा आउँछ नि ।
तपाईंहरु राष्ट्रिय सहमतिका कुरा पनि गर्नुहुन्छ, विरोध पनि गर्नुहुन्छ यतिबेला कांग्रेस कहाँ छ ?
म त्यसमा पनि आउँछु । अहिले कुन नेताले के अभिप्रायले भन्नुभयो । सुन्ने र बुझ्ने साथीहरुले के अर्थमा बुझ्नुभयो । त्यसलाई के ढंगले ब्याख्या गर्नुभयो त्यो आफ्नो ठाउँमा छ । पछिल्लो समयमा केही नेताहरुले ‘मैले यो कुरा भनेकै छैन’ पनि भनिरहनुभएको छ ।
प्रकाशशरण महतले मसँग टेलिभिजन कार्यक्रममा कुरा गर्दा मध्यावधिको माग गर्नुभएको छ नि ?
म यसमा प्रष्ट रुपमा भन्छु । पहिलो कुरा अहिले सरकार परिवर्तन, मध्यावधि निर्वाचन अथवा सहमतीय सरकारको कुरा यी चर्चा नै गर्नुनहुने अप्रासांगिक कुराहरु हुन् । अहिले हामी सबै मिलेर संसारमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लडार्इँ लडेर नेपालीलाई जिताउनु छ । कोरोनालाई हराउनु छ, नेपालीलाई जिताउनु छ । जहाँसम्म अहिले सरकारले गरेका काम कुरा होलान्, अरु पार्टीहरुले गरेका भूमिकाका कुराहरु होलान् । त्यसका बारेमा समयमा मुल्यांकन हुने छ । अहिले सरकार परिवर्तनदेखि मध्यावधि निर्वाचन वा राष्ट्रिय सरकार भनेर अप्रासांगिक चर्चा गर्ने कुरा छैन । नेपाली कांग्रेसको स्पष्ट धारणा यही हो ।
तर नेताहरु त जे पायो त्यही बोलिरहेका छन् नि ?
व्यक्तिगत रुपमा कसले के कुरा भन्छन्, यो त बहुलवाद हो । बहुदलीय व्यवस्थामा मानिसका आ–आफ्ना धारणाहरु हुन्छन् । त्यसमा पनि डा. प्रकाशशरण महतले जो नेपाली कांग्रेसको सह–महामन्त्री हुनुहुन्छ, ‘यो कोरोनाको प्रकोपपछि मुलुक त्यतापनि जान सक्छ भनेको हुँ’ भन्ने उहाँको धारणा छ । त्यसमा के बझ्नुभएको हो त्यतातिर नजाऔं । अहिले सहमतीय सरकार, मध्यावधी निर्वाचन जस्ता कुराहरु अप्रासांगिक हुन् । अहिले सबैले मिलेर कोरोनाविरुद्ध लड्ने कुरा हो । र, सरकारले सही ढंगले जिम्मेवारीपूर्वक काम गरेका छ कि छैन भनेर हेर्ने काम हामीलगायत सबै जनताको अधिकार हो ।
उहाँले त सरकारले अहिलेको अवस्थामा राजीनामा दिनुपर्छ भन्नुभयो त्यो राम्रो हो ?
ऋषिजी अहिले यो कुरा गर्नुको कुनै अर्थै छैन । यस्तो अवस्थामा सरकार परिवर्तन, मध्यावधि निर्वाचन, सहमतिको सरकार यो कुरामा जाने कामै होइन । अहिले खाली कोरोनाका विरुद्ध लड्ने हो ।
कांग्रेस सभापतिले पनि सबै पूर्व प्रधानमन्त्रीहरुसँग हिजो कुरा गरेर सबै मिलेर कोरोनाविरुद्ध लड्नुपर्छ भन्नुभयो नि ?
नेपाली कांग्रेसले यसमा गतिलो ढंगले पहल गरिराखेको छ । हामीले सरकारलाई सहयोग गर्नेपर्ने ठाउँमा पनि राम्रोसँग सहयोग गरिराखेका छौं । लकडाउनलगायतका कुरामा सरकारले ठीक गरेको छ भनेका छौं । त्यसलाई अझ कडाईंका साथ लागु गर्नुपर्छ भनिराखेका छौं । जे कुरामा कमीकमजोर भएको छ त्यसलाई सच्याउँ भनिराखेका छौं । यस्तो बेलामा भ्रष्टाचार नगरौं । जनताप्रति उत्तरादायी भएर काम गरौं । इमानदारिता र नैतिक बहान बनौं भनिराखेका छौं । फेरि हिजो मात्रै पार्टी सभापतिले अरु पूर्व प्रधानमन्त्रीहरुसँग कुरा गरेर भन्नुभएको छ । व्यक्तिगत रुपले यसलाई कसरी व्यवस्थिति गर्ने भनेर प्रयत्न गरिराखेका छौं । हिजो मात्रै मैले माननीय स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग सुदूरपश्चिमको स्वास्थ्यस्थितिका बारेमा कुरा गरेको छु । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीजीसँग त झन् निरन्तर कुरा भएको छ । जस्तो तपाईंले सुदूरपश्चिमकै कुरा उठाइरहनुभएको छ । त्यसमा लकडाउनको कुरा राम्रो छ । एउटा पालिकाबाट अर्को पालिकामा जाननदिने कुरा पनि राम्रो छ । तर, अहिले सुदूरपश्चिम उच्च जोखिममा रहेको छ । तर, अहिले त्यहाँ परीक्षणमा कति कमजोरी छ ऋषिजी थाहा छ तपाईंलाई ? सरकारले एउटा मेसिन पठाएको छ । त्यसले दिनमा कति परीक्षण गरेको छ ? त्यसले धान्न सक्छ ? म निरन्तररुपमा केन्द्रीय सरकारका मन्त्रीहरुसँग कुराकानी गरिरहेको छु । र, सुदूरपश्चिका प्रदेशस्तरीय प्रतिनिधि र मन्त्रीहरुसँग पनि सम्पर्कमा छु । जसरी धनगढीमा परीक्षणको लागि मेसिन जडान भएको छ । त्यसले एक दिनमा जम्मा ६ जनाको परीक्षण गर्दै छ । आज परीक्षण हुन थालेका चौथो दिन भयो । जम्मा १७ जनाको परीक्षण गरेको छ । यही गतिले सुदूरपश्चिममा कोरोनासित लड्न सकिन्छ त ? धेरै गाह्रो छ । त्यस्तो ठाउँमा त कम्तिमा एकदिनमा ५०० जनाको परीक्षण हुनुपर्छ । संसारभरिमा हामीभन्दा कम परीक्षण गर्ने कुनै मुलुक छैन ।
अहिले त हामीसँग स्वास्थ्य सामाग्री नै छैन नि, सेना खरिद गर्ने भनेको छ सामान आएपछि होला नि ?
होइन मैले भने नि त कहिले आउँछ त ? स्वास्थ्य सामाग्रीहरुको कमी भयो त भनेकै छु नि । स्वास्थ्यकर्मीहरु जो यो लडाईंमा लडिरहनुभएको छ । उहाँहरुलाई व्यक्तिगत सुरक्षाका सामाग्री छैनन् । परीक्षण गर्ने किट पनि पुगेको छैन । जुन किट आएको छ त्यसमा पनि संका उपन्न भएको छ । सरकार आपैmले आउनुपर्ने जति पनि आएन र आएको पनि गुणस्तर भएन भनेर सम्झौता भंग गरेको छ । अरु संसारका देशहरुबाट परीक्षण भएर त्यो किट पनि ठीक छैन भन्ने छ । हो यहाँनेर सरकारले गरेका कामहरु कति ठीक छन् कति छैनन् त्यो त जनताले मूल्यांकन गर्ने छन् । हामी पनि त्यसको मूल्यांकन गर्ने छौं ।
अब सुदूरपश्चिममा सरकारले के गर्नुपर्छ सुझाव दिनुस् न त ?
अहिले जसरी सरकारले लकडाउन गरेको छ, यसलाई कडाईंका साथ लागु गर्नुपर्छ । सुदूरपश्चिमका दाजुभाइ दिदीबहिनीहरुलाई पनि म के आग्रह गर्न चान्छु भने आफ्नै घरमा एकान्तमा बसौं । सकैसँग सम्पर्क गर्दा सुरक्षित ढंगले गरौं । सामाजिक दुरी कायम गरौं र संक्रमणबाट जोगाऔं, जोगिऔं । दोस्रो क्वारेन्टाइनमा बसेका सबैको जाँच गरौं त्योलगायत अरुको पनि बढीभन्दा बढी मानिसको जाँच गरौं । त्यसका लागि सुदूरपश्चिममा ठूलो मेसिन जडान गरौं । यो मेसिनले धान्न सक्दैन । परीक्षणका लागि कट र आवश्यक सामाग्री र दक्ष चिकित्सकहरुको बढीभन्दा बढी परिचालित गरौं । अर्को अहिले जति पनि बाहिरबाट मान्छेहरु आउँछन् उनीहरुलाई अनिवार्य क्वारेन्टाइनमा राखौं । अहिले सीमाना त बन्द छ तर छिटफुट रुपमा आइराखेका छन् भन्ने सुन्नमा आएको छ । ती मान्छेको पहिचान गरी क्वारेन्टाइनमा राखौं र त्यहाँबाट घर फकाउँदा पनि स्वास्थ्य परीक्षण गरेर मात्रै पठाउने गरौं । अर्को अस्पतालको स्थितिमा सुधार क्षमता वृद्धि गरौं । अर्को कुरा जुन दैनिक ज्याला, मज्दुरी गरेर दैनिक जीवन गुजारा गर्थे उनीहरुको लागि उचित राहतको व्यवस्था गरौं । यो नभएर केन्द्रमा बसेर सरकार विभिन्न किसिमका घोषणा गरेर भाषणवाजी गरेर बस्ने । लक्षित ठाउँमा आवश्यक खाद्यान्नलगायतका सामाग्रीहरु अभाव भयो भने यसले स्थितिलाई भयावह बनाउन सक्छ । यी चिजहरु उपलब्ध गराउन सरकारसँग नेपाली कांग्रेसलगायत म जोडदार माग गर्दछु ।



प्रतिक्रिया दिनुहोस्