Logo

जिउँदा कुखुरा नष्ट गरिँदै



काठमाडौँ, २५ चैत । कोरोना सङ्क्रमणको रोकथामका लागि बन्दाबन्दीका कारण बिक्री नभएपछि ह्याचरी उद्योगले उत्पादित चल्ला खाल्टोमा हाल्न थालेका छन् ।

नेपाल ह्याचरी उद्योगका अध्यक्ष टीकाराम पोखरेलले अण्डा चल्ला खाल्टोमा हाल्न थालिएको बताएका छन् । अध्यक्ष पोखरेलका अनुसार नेपालभर हप्तामा ४२ लाख चल्ला उत्पादन हुने गरेको छ । तीमध्ये चितवनमा मात्रै १५ लाख चल्ला तयार हुन्छन् । तीमध्ये १० देखि १५ प्रतिशत मात्र बिक्री भएको र अरू खाल्टोमा हालेको उनले बताएका छन् ।

बिक्री नभएर मात्र नभई दाना पाउन मुस्किल भएपछि पनि किसानले पालेका कुखुरा जिउँदै खाल्डोमा हाल्न थालेका हुन् । पोखरेलका अनुसार अहिले नेपालभर कुखुरा व्यवसायीले दैनिक झन्डै २२ करोड रुपियाँ घाटा बेहोर्नुपरेको छ । नेपाली बजारमा दैनिक करिब १० लाख केजी कुखुराको मासु खपत हुने गरे पनि अहिले व्यवसाय नै ठप्प भएको किसान बताउँछन् । कुखुराका लागि आवश्यक दाना बजारमा नपाउनु र ढुवानी गर्न नसक्नु जस्ता कारण यतिबेला किसान समस्यामा परेका हुन् ।

अण्डाको माग बढ्यो उत्पादन कम
बन्दाबन्दीका कारण बजारमा ताजा तरकारीको आपूर्तिमा कमी आएसँगै अण्डाको माग बढेको छ । अधिकांश मासु पसल बन्द छन् । उपभोक्ताले किनारा तथा खाद्य स्टोरबाट अण्डा खरिद गर्न पाउँछन् ।

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार अहिले दैनिक २५ लाख अण्डा उत्पादन भइरहेको छ । पहिले दैनिक ३० लाखभन्दा बढी अण्डा उत्पादन हुन्थ्यो, केसीले भन्नुभयो, अहिले पाँच लाख अण्डा उत्पादन घटेको छ । कुखुरालाई पर्याप्त दाना खुवाउन नसक्दा अण्डा उत्पादन घटेको उनको भनाइ छ । बजारमा अण्डाको माग बढिरहेको छ । उपभोक्ताले अण्डा किनेर राख्न थालेकाले माग बढेको बताएका छन् । अण्डा केही दिन राखेर पनि खाना सकिने भएकाले उपभोक्ताको रोजाइमा परेको छ । मागअनुसार बजारमा अण्डा पु¥याउन नसकेको केसीले बताएका छन् ।

कि किनिदेउ कि बेच्न देउ
उर्लाबारीबाट प्राप्त समाचार अनुसार ३० देखि ४५ दिनभित्र बेची सक्नुपर्ने कुखुरा ५६ दिनको भइसक्दा पनि बेच्न नपाएको गुनासो किसानको छ । उनीहरूले कि किनिदने नभए बेच्न दिन माग गरेका छन् । पूर्वी मोरङमा हाल १० हजार कुखुरा बजार पु¥याउन नपाएर खोरमै थन्किएको रोजगार पोल्ट्री एन्ड फिड सप्लायर्स उर्लाबारीका सञ्चालक कपिल गौतमले बताएका छन् । पूर्वी मोरङका मिक्लाजुङ, उर्लाबारी, रतुवामाई, पथरी शनिश्चरे, लेटाङ र काने पोखरीमा ६० भन्दा बढी डिलर छन् । एउटा डिलरले २५ जना किसानलाई चल्ला र दाना उपलब्ध गराउँदै आएको छ ।

सामान्यतया दुई सय कुखुरा पाल्न किसानको एक लाख रुपियाँ खर्च हुने गर्छ । औसत प्रतिकेजी दुई सय रुपियाँमा बिक्री हुने कुखुरा लकडाउन भएयता बिक्री ठप्प छ । ग्रामीण क्षेत्रमा ब्रोइलर पालन बढी छ । माग सहरी क्षेत्रमा हुने गरेको छ । गाउँबाट सहर पु¥याउन नसक्दा १० हजार कुखुरा खोरमै थन्किएका छन् । अझ बजार र साना फ्रेस हाउसहरू पूर्ण रूपमा बन्द हुँदा कुखुराको माग शून्य छ ।
किसानले स्थानीय सरकारसँग बिक्रीका लागि प्रबन्ध मिलाइदिन बारम्बार आग्रह गरेका छन् तर स्थानीय सरकारले पनि बेवास्था गरेको किसान रमेश गिरीले बताएका छन् । उता पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख यमुना विष्ट बास्तोलाले नगरका तीनवटा फ्रेस हाउसलाई सञ्चालनको अनुमति दिइएको बताए ।

बिकेनन् ब्रोइलर
लमजुङबाट प्राप्त समाचार अनुसार लमजुङ जिल्लाका ब्रोइलर कुखुरा पालक किसान मर्कामा परेका छन् । बजार तथा फ्रेस हाउस बन्द भएपछि उत्पादन गरिएको कुखुरा बिक्री नभएको किसानले बताएका छन् । राइनास नगरपालिका–६, धमिलीकुवाका किसान सीताराम पाण्डेले ब्रोइलर कुखुरा बिक्री गर्ने अवस्थाको रहे पनि बिक्री हुन नसकेको बताए । सहरदेखि गाउँका सबै पसल बन्द रहँदा हुर्किएका कुखुरा फार्ममै राख्नुपर्ने बाध्यता रहेको उनले बताए । एक हजार बोइलर कुखुरा बिक्री हुने तौलको भए पनि बिक्री नहुँदा दाना मात्र खुवाएर राखेको बताए । बेँसीसहर नगरपालिका–७, चण्डीडाँडाका किसान दीपक केसीका अनुसार कुखुरालाई दिने दाना पाउन गाह्रो छ । हुर्किएका कुखुरा बिक्री भएको छैन । मासु व्यवसायी सङ्घ लमजुङका अध्यक्ष गुणराज सिलवालका अनुसार बन्दाबन्दीको सुरुका दिनमा दाना ओसारपसारको समस्या थियो । अहिले दाना ल्याउन केही सहज भए पनि हुर्किएका कुखुरा बिक्री भएको छैन । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्