विदेशका नेपालीलाई प्रधानमन्त्री ओलीको आग्रह : “जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ” (भिडियोसहित)


काठमाडौं, २५ तैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरुलाई अहिलेको अवस्थामा जो जहाँ छन् त्यही सुरक्षित रहेर बस्न आग्रह गरेका छन् । मंगलबार विहान देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले भने,”विश्वव्यापी रुपमा सङ्क्रमण फैलिँदै जाँदा विदेशमा रहनुभएका कतिपय नेपालीहरुमा पनि सङ्क्रमण देखा परेको छ । केहीको दुःखद निधन समेत भएको छ । लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपालीहरु आफ्नो स्वास्थ्य सुरक्षालाई लिएर, रोजगारी अथवा पढाइलाई लिएर र समग्र भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ । सङ्कटको यस घडीमा हाम्रो सहानुभूति, साथ र सद्भाव उहाँहरुप्रति छ ।”

उनले विदेशमा रहेका नेपालीहरुको लागि नेपाल सरकारका दूतावास र मिशनहरु प्रवासी र गैर आवासीय नेपालीहरुका समस्या समाधानमा क्रियाशील रहेको पनि सुनाउ । उनले भने,”गैरआवासीय नेपाली सङ्घ लगायत सामुदायिक संस्थाहरुले पनि सक्दो सहयोग गरिरहेका छन् । विदेशमा रहेका नेपालीहरुको स्थितिका बारेमा सम्माननीय राष्ट्रपतिज्यू स्वयंले नेपाली दूतावासहरु मार्फत जानकारी लिइरहनु भएको छ । नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरुसंग मैले टेलिफोन संवाद सुरु गरेको छु । परराष्ट्र मन्त्रालयले निरन्तर आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ । मेरो ।आग्रह छ– सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ । सङ्कटका काला बादल अवश्य हटेर जानेछन् ।”