Logo

भ्रष्टाचारीविरुद्ध निर्मततापूर्वक कारबाही हुन्छ : प्रधानमन्त्री ओली



काठमाडौँ २५ चैत l प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न नसक्ने बताउँदै उनले कहीँकतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किञ्चित पछि नपर्ने दृढता व्यक्त गरे ।

प्रधानमन्त्रीले भने, “समाजमा उठ्ने गरेका, खासगरी ‘मिडिया’ र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी सङ्कटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन ।”

राष्ट्रिय एकता, राष्ट्रिय शक्ति

सरकार र जनताबीचको, राजनीतिक दलहरुबीचको, राज्य र समाजका सबै अङ्गहरुबीचको बलियो राष्ट्रिय एकता नै महामारीमाथि विजयको पूर्वशर्त भएको भन्दै प्रधानमन्त्रीले संसद्को साझा सङ्कल्प, सर्वदलीय सहमति, प्रमुख प्रतिपक्षी दलसहित विभिन्न राजनीतिक दल तथा तिनका नेताहरुको ‘महामारीका विरुद्धको युद्धमा सरकारको साथमा रहने’ भनाइलाई आफूले राष्ट्रिय शक्तिको रुपमा लिएको बताए । उनले आगामी दिनमा पनि त्यस्तो समझदारी र एकता निरन्तर रहनेमा आफू विश्वस्त रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्