Logo

प्रधानमन्त्री ओलीको सम्बोधन स्वास्थ्य मन्त्रालयका प्रवक्ताको जस्तो : ईन्द्र बानियाँ



काठमाडौं, २५ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्र बानियाँले प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा आज गरेको सम्बोधन स्वास्थ्य मन्त्रालयको प्रवक्ताले गर्नेजस्तो भएको टिप्पणी गरेका छन् ।

मंगलबार प्राईम टाईम्स टेलिजिभनको कोरोनाको महामारी : प्राईमको खबरदारी कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बानियाँले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले भोलिका दिनमा के गर्ने भन्नेबारे तयारी तथा योजना सुनाउलान भनेकोमा सरकारले अहिलेसम्म गरेका कामका फेहरिस्तबारे सुनाएको गुनासो पोखे ।

उनले अहिले सरकारले के के काम गरेको छ ? भनेर सुनाउनुभन्दापनि कोरोना रोकथाम तथा नियन्त्रणको लागि भोलिको योजना र रणनीति के छ ? त्यो बारेमा बोल्नुपर्नेथियो भन्ने धारणा राखे । सम्बोधनको क्रममा प्रधानमन्त्रीले दैनिक ज्यालादारी तथा मजदुरी गरेर खानेहरुको लागि राहतको प्याकेज केही पनि घोषणा नभएकोमा पनि उनले गुनासो पोखे ।

त्यस्तै, उनले बाग्मती प्रदेश सरकार र आफूहरुबीचमा सम्बन्ध अत्यन्तै राम्रो रहेको विश्वास दिलाए । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि उपाध्याय पौडेलले राम्रो काम गरेको भन्दै उनले आफूहरुको राम्रो कामको लागि जहिल्यैपनि समर्थन र सहयोग रहने विश्वास दिलाए ।

स्वास्थ्य सामग्री खरिद प्रकरणमा अनियमितता भएको कुरा बाहिर आईसकेकोले यसमा छानबिन हुनुपर्नेपनि उनको माग छ । उनले यो प्रकरणमा अख्तियारले छानबिन गर्ने विश्वास दिलाएका छन् ।

अहिले मुलुक विषम संकटबाट गुज्रिरहेको उल्लेख गर्दै यतिवेला सहमतिको सरकार, मध्यावधि चुनाव वा सरकार परिवर्तनको माग गर्न नहुने पनि उनले सुझाए । उनले भने,”यस्तो बेलामा यी माग राख्नु भनेको बेमौसमको बाजा बजाउनु हो । यही सरकार पाँच वर्ष जान्छ । मध्यावधि चुनावको माग गर्नु त आत्माघाती हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्