Logo

नेकपाको साँढे चार घन्टा लामो बैठकमा चर्काचर्की



काठमाडौं, २५ चैत्र । नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा सरकारको चर्को आलोचना भएको छ । कोरोना भाइरस रोकथामका लागि खरिद गरिएको स्वास्थ्य सामाग्रीमा अनियमितता, राहत दिनुपर्नेमा सरकारको कमजोरीलगायतका विषयमा सचिवालय सदस्यहरुले विषय उठाएपछि तनावको अवस्था समेत भएको बुझिएको छ ।

आज अपरान्ह बसेको बैठक साँढे चार घन्टा चलेको थियो । बैठकमा नेताहरुबीच बेला बेलामा चर्काचर्की समेत भएको विश्वस्त स्रोतले बताएको छ ।

बैठकमा सचिवालयका अधिकांश सदस्यहरुले सरकारको त्रुटीबारे तथ्यसहित विवरण प्रस्तुत गरेका थिए । त्यसको जवाफ दिंदा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेल हैरान भएका थिए । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम सबैभन्दा कडा रुपमा प्रस्तुत भएको विश्वस्त स्रोतले जानकारी दिएको छ । खनाल र गौतमले पार्टी नै बदनाम हुन लाग्यो भनी चिन्ता व्यक्त गरेका थिए । औषधी खरिद प्रकरणबारे छानविन गरी दोषीमाथि कारबाहीको माग समेत उठाएका थिए ।

औषधी खरिद प्रकरणको विषय उठेपछि सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले त्यसको बचाऊमा बोलेका थिए । उनले ओम्नीटेकको कमजोरी र वास्तविकता ढिलो गरी जानकारीमा आएपछि सम्झौता रद्द गरिएको भन्दै सरकारको कदमको बचाऊ गरेका थिए ।

सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकारले राम्रा काम गरेको भन्दै संकटको घडीमा विवाद नगरी एकजुट भई सबै मिलेर कोरोना रोकथाममा लाग्नुपर्नेमा जोड दिए । उनले त्रुटीबारे पछि छानविन गरी अगाडि बढ्न सकिने बताएको बुझिएको छ । तर, त्रुटी एकपछि अर्को भएको र महामारीको बेलामा यति ठूलो अनियमितताको विषय आएकाले तत्काल दोषीमाथि कारबाही नगरे ढिलो हुने भन्दै उपाध्यक्ष गौतम कडा रुपमा प्रस्तुत भएका थिए ।

अर्का वरिष्ठ नेता माधवकुमार नेपालले पनि सरकारको भूमिकाहरु एकपछि अर्को विवादमा आएकोमा गम्भीर हुन ध्यानाकर्षण गराए । उनले व्यक्ति विशेषको गल्तीले पार्टी बदनाम हुन नहुने स्पष्ट पारे ।

वरिष्ठ नेता खनालले पार्टी निर्णय अनुसार सरकार चल्नुपर्नेमा त्यसो नहुँदा विवादास्पद क्रियाकलाप भइरहेको भन्दै सचेत हुन आग्रह गरेका थिए । स्रोतका अनुसार खनालले पद्धति र प्रणालीलाई बेवास्ता गरेर हिंड्दा दुर्घटना हुनसक्ने र त्यसले पार्टीलाई समेत क्षति पुग्न सक्ने भन्दै सचेत हुन आग्रह गरेका थिए ।

अर्का अध्यक्ष प्रचण्डले पनि सरकारको कामकारबाहीमा एकपछि अर्को त्रुटीहरु बढ्दै जानु राम्रो होइन भन्दै छलफलबाट अगाडि बढ्नुपर्नेमा जोड दिए । अहिलेको घडीमा पार्टी झन् एकतावद्ध भएर जानुपर्ने बेला भएकोमा उनको जोड थियो ।

नेकपाभित्र लकडाउनपछि पहिलोपटक सचिवालय बैठक बसेको हो । यो बैठक सरकारको पछिल्लो क्रियाकलापको समिक्षामा केन्द्रित भएको थियो ।-Photo Source: PM Press Advisor



प्रतिक्रिया दिनुहोस्