Logo

विश्वमा अर्बपतिको संख्या र सम्पत्ति घट्यो



एजेन्सी, २६ चैत्र । विश्वमा अर्बपतिहरुको संख्या र सम्पत्ति दुवै घटेको छ । फोर्बसका अनुसार २ हजार ९५ जना अर्बपतिमध्ये गत वर्षको तुलनामा ५८ जना संख्या घटेको छ ।

सन् २०२० को अर्बपतिको सूची सार्वजनिक गर्दा गत वर्षको तुलनामा अर्बपतिहरुको सम्पत्ति ८० खर्ब डलर देखिएको फोर्बसले जनाएको छ । यो सन् २०१९ को तुलनामा ७ खर्ब कम हो ।

फोबर्सले १८ मार्चमा सूचीलाई अन्तिम रुप दिंदा कोरोना भाइरसले महामारीको रुप लिइसकेको थियो । यसले सँसारका अर्बपतिहरुलाई नोक्शान पुगेको देखिएको छ । फोर्बसले सूची गएराति सार्वजनिक गर्यो ।

विश्वको सर्वाधिक धनीमा जेफ बेजोस नै कायम भएका छन् । एमेजनका मालिक उनी लगातार तेस्रो वर्ष विश्वकै धनी बन्न सफल भएका हुन् । फोर्बसका अनुसार सन् २०२० मा जेफ बेजोस सर्वाधिक धनी हुन् । उनीसँग ११३ अर्ब डलर सम्पत्ति छ । उनले पूर्व पत्नी मेकेन्जी बेजोससँग सम्बन्ध बिच्छेद गर्दा सम्पत्ति गुमाउनुका बाबजुद धनीमै कायम हुन सकेका हुन् ।

फोबर्सका अनुसार माइक्रोसफटका बिल गेट्स दोस्रो नम्बरमा छन् । उनको सम्पत्ति ९८ अर्ब डलर छ । पहिलो र दोस्रो नम्बरमा दुवै अमेरिकी छन् । तर, यसवर्ष सँसारका धनीहरुले सन् २०१९ मा भन्दा धेरै सम्पत्ति गुमाएका छन् ।

सबैभन्दा बढी सम्पत्ति जोड्न सफल भएकामा किन इङलिन छन् । उनी सुंगुरको उत्पादक हुन् । साँढे १८ अर्ब डलर सम्पत्ति भएका उनले सन् २०१९ मा भन्दा १४ अर्ब बढी सम्पत्ति जोड्न सके । उनी ४३ औं नम्बरमा छन् ।

तेस्रो नम्बरमा फ्रान्सको बर्नाड आर्नल्ट र उनको परिवार छ । चौंथोमा अमेरिकी वारेन बफेट, पाचौंमा अमेरिकी ल्यारी इलिसन, छैठौंमा स्पेनका अमानिको अर्टेगा, सातौंमा फेसबुकका मार्क जुकेनवर्ग, आठौंमा अमेरिकी जिम वाल्टन, नवौंमा अमेरिकी एलिस वाल्टन र दशौंमा अमेरिकी रब वाल्टन छन् ।

चीनका ज्याक मा १७ औं नम्बरमा छन् । उनको कुल सम्पत्ति ३८ अर्ब डलर छ । भारतका मुकेश अम्बानी २१ औं नम्बरमा छन् । उनको कुल सम्पत्ति ३६ अर्ब डलर छ ।

नेपालमा एकमात्र अर्बपति बिनोद चौधरी १५१३ नम्बरमा परेका छन् । उनको कुल सम्पत्ति एक अर्ब ४० करोड डलर रहेको फोर्बसले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्