Logo

सातै प्रदेशमा कोरोना परीक्षण



काठमाडौँ, २६ चैत । सातवटै प्रदेशका कोरोना भाइरस (कोभिड १९)का प्रयोगशाला नियमित परीक्षण भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साथै नेपालमा कोरोना भाइरस (कोभिड–१९)को आशङ्कामा विभिन्न अस्पतालमा एक सय जना व्यक्ति आइसोलेसनमा छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको मङ्गलबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका छन् । उनका अनुसार एस सय व्यक्ति आइसोलेसनमा र नौ हजार २२८ जना क्वारेन्टाइनमा छन् । उपत्यकामा १६ र उपत्यका बाहिरका विभिन्न अस्पतालमा ८४ जना गरी कुल सय जना व्यक्ति आइसोलेसनमा रहेको जानकारी दिँदै उनले देशभर एक हजार ७७६ जना व्यक्तिको कोरोना परीक्षण गरिएको बताएका छन् ।

उनले उपत्यका र उपत्यकाबाहिर गरी १० वटा प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण भइरहेको भन्दै सातवटै प्रदेशका प्रयोगशालामा नियमित परीक्षण भइरहेको स्पष्ट पारेका छन् । प्रवक्ता डा. देवकोटाले स्वास्थ्य मन्त्रालयले तयार पारेको मोबाइल एप्समा पछिल्लो २४ घण्टामा एक हजार ८५१ जनाले आफ्नो नाम दर्ता गराएको जानकारी दिएका छन् । उनले तीमध्ये १७ जना व्यक्तिलाई रेड जोनमा राखिएको बताए । उनका अनुसार स्वास्थ्य एपमा हालसम्म ११ हजार २३९ जनाले नाम दर्ता गराएकोमा १७२ जना रेड जोनमा छन् ।
देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अहिलेसम्म एक हजार ७९६ जनाको नमुना परीक्षण गरिएको पनि जानकारी दिएका छन् । उनले यसअघि पोजेटिभ देखिएका आठ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । कञ्चनपुर र कैलालीमा तीव्र परीक्षण अर्थात् ¥यापिड टेस्ट भइरहेको उनले बताए । अहिलेसम्म कञ्चनपुरमा २१ र कैलालीमा १८ नमुना सङ्कलन गरिएको जानकारी पनि उनले दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्