Logo

राष्ट्रिय एकता नै विजयको पूर्वशर्त हो



काठमाडौँ, २६ चैत । आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारीविरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरूलाई सम्बोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरि ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिरामीसहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान गुमाउने नेपाली दाजुभाइ, दिदीबहिनीलगायत सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । सङ्क्रमितहरू निको भएर घर फर्किन सक्नुहोस् भन्ने कामना गर्दछु । हाम्रो पुस्ताले भोगेको सर्वाधिक गम्भीर चुनौतीमध्येको यस महामारीविरुद्ध कठिन लडाइँमा रहेका सबै राष्ट्र र जनसमुदायप्रति नेपाली जनताको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्दछु ।

नेपाल पनि कोरोनाविरुद्धको लडाइँमा होमिएको छ । देशमा सङ्क्रमणको पहिलो ‘केस’ पहिचान भएदेखि यता तपार्इं हाम्रो साझा प्रयत्नले सङ्क्रमितको सङ्ख्या नौ जनामा मात्र सीमित गर्न सकिए तापनि हामी अझै पनि उच्च जोखिममा छौंँ । दुई सातादेखि मुलुक लकडाउनमा छ । यसबाट तपाईंहरूमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु । दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्न‘पर्ने श्रमिकहरू सर्वाधिक मर्कामा हुुनुहुन्छ । धेरै व्यवसायीले आफ्नो व्यवसाय बन्द गर्न‘परेको छ । विद्यार्थीहरूको पढाइ छुटेको छ । जेलमा यन्त्रणापूर्ण वर्षहरू र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तवासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गर्न सक्छु । तर नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेको यस महामारीविरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने तपाईं–हामी सबैलाई थाहा छ ।

लकडाउनकै कारण महामारीलाई फैलिन नदिने हाम्रो प्रयासमा ठूलो सहयोग पुगेको छ तर समस्या अझै यथावत् छ र थप सावधानी अपनाइएन भने अझ भयावह बन्न सक्ने खतरा पनि छँदैछ । त्यसैले आजबाट थप आठ दिनका लागि लकडाउनको अवधि बढाउन हामी बाध्य भएका छौँ । सबै कठिनाइ झेलेर यस अभियानमा पूर्ण साथ दिनुहुने तपाईंहरू सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै बाँकी अवधिका लागि पनि यस्तै धैर्य र सहयोगका लागि अनुरोध गर्दछु ।

सीमित पूर्वाधार, स्वास्थ्यसामग्री तथा उपकरणका कमीको बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी तथा अग्रिम मोर्चामा संलग्न सबै राष्ट्रसेवकले देखाउनुभएको कर्तव्यपरायणता अत्यन्तै सराहनीय छ । हाम्रै स्वास्थ्य रक्षाका लागि सुरक्षाकर्मीहरू दिउँसोको चर्को घाम होस् या रातको अँध्यारो, निरन्तर सेवामा खटिरहनुभएको छ । मित्र राष्ट्रहरूबाट प्राप्त सद्भाव एवं कतिपय अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरूले नेपालले चालेका कदम कतिपय विकसित मुलकको तुलनामा समेत प्रभावकारी रहेको भनेर गरेको विश्लेषणले तपाई हामीलाई यस महामारीविरुद्ध लड्न थप हौसला मिलेको छ । यस्ता सङ्क्रटका बेला प्रदेश सरकार र स्थानीय तह एवं जनप्रतिनिधिहरूको भूमिका कति प्रभावकारी हुँदोरहेछ भन्ने स्पष्ट देखिएको छ । म आ–आफ्नो तहमा सङ्क्रमण फैलिन नदिन र विपन्न परिवारहरूलाई राहत पु¥याउन अहोरात्र खटिरहनुभएका जनप्रतिनिधिप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । यस क्रममा स्थानीय समुदाय र सामाजिक सङ्घसंस्थाको क्रियाशीलता पनि उल्लेखनीय छ । (गोरखापत्र दैनिकबाट)



प्रतिक्रिया दिनुहोस्