Logo

बिरामी जाँच्न पन्छिन्छन् निजी अस्पताल



काठमाडौँ, २६ चैत । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले निजी क्षेत्रका अस्पताललाई तयारी अवस्थामा बस्न निर्देशन दिए पनि अधिकांश अस्पताल गम्भीर छैनन् । कोरोनाको त के कुरा, अन्य रोगका बिरामी पनि अस्पतालले हेर्न मानिरहेका छैनन् ।

सरकारले निजी क्षेत्रका अस्पतालसँग कोरोना उपचारबारे पटक पटक छलफल गर्नुका साथै ती अस्पताल र चिकित्सकलाई विभिन्न सुविधा दिने घोषणा पनि गरिसकेको छ । सोमबारकोे मन्त्रिपरिषद् बैठकले निजी क्षेत्रका चिकित्सकलाई सरकारी चिकित्सकसरह नै सुविधा दिने निर्णय गरेको छ । तथापि निजी क्षेत्रका अस्पताल उपचार गर्न उत्साहित छैनन् । चीनमा कोरोना भाइरसको महामारी सुरु भएदेखि नै सरकारले निजी क्षेत्रका अस्पताललाई सतर्क रहन निर्देशन दिएको थियो । पाटन अस्पतालले माघ १३ गते नै निजी तथा सरकारी अस्पतालसँग छलफल गरी तयारी अवस्थामा रहन आग्रह गरिसकेको थियो । त्यसपछि पनि स्वास्थ्य मन्त्रालयदेखि अन्य निक९ायले निजी अस्पतालको निरन्तर सम्पर्कमा रही छलफल गरिरहेका छन् ।

तर अधिकांश अस्पतालले अझै ढिलासुस्ती गर्दै आएका छन् । कतिपय अस्पताल त सुनसान र बन्द अवस्थामा छन् । कतिपय अस्पतालले ज्वरो आएका बिरामीलाई भर्नासमेत लिन मानेका छैनन् । तीनकुनेस्थित कान्तिपुर अस्पतालमा सोमबार एक आफन्तलाई ज्वरो आएको छ, जँचाउनु छ, ल्याऊँ कि नल्याऊँ भनी रिसेप्सनमा सोध्दा आकस्मिक कक्षमा गएर बुझ्न भनियो । आकस्मिक कक्षमा बुझ्न जाँदा सुरुमा कति ज्वरो छ, कुन देशबाट आएको हो, कति दिनदेखि ज्वरो आएको छ, सबै कुरा सोधेपछि ज्वरो हेर्ने डाक्टर नै आएको छैन भनेर फर्काइयो । त्यस्तै बानेश्वरमा रहेको एभरेस्ट अस्पतालको चेनगेट नै लागेको थियो । भित्र कर्मचारी थिए । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्