Logo

लकडाउन कार्यान्वयन गराउन अब गोलीसम्म ठोक्न सकिन्छ : सिडिओ दाहाल (भिडियोसहित)



काठमाडौं, २६ चैत्र । जिल्ला प्रशासन कार्यालय, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले लकडाउनको आदेश पालना गराउन खरो उत्रिने बताएका छन् । उनले यो अवधिमा अनावश्यक घरबाहिर ननिस्कन समेत आम नागरिकलाई आग्रह गरेका छन् । हिजो (मंगलबार) राति ८ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।

लकडाउनको आदेश उल्लंघन गरेर सडकमा जनता आए अब प्रशासनले आफ्नो अन्तिम विकल्प प्रयोग गर्नेसमेत उनले चेतावनी दिए । उनले भने, “किनभने हामीले धेरैपटक सम्झाएका छौं । धेरैपटक अनुरोध भैसकेको छ । सम्माननीय राष्टपतिज्यूबाट पनि अनुरोध भैसकेको छ । सम्माननीय प्रधानमन्त्रीज्युबाट पनि भैसकेको छ । हामी सबैबाट भैसकेको छ । पछिल्लो समय मिडियबाट बहुत राम्रो रोल निर्वाह भएको छ । यति गर्दापनि भएन भने भोलि जीवनरक्षाको लागि हो यो त, प्रत्येक व्यक्तिको जीवन रक्षाको लागि निर्मम रुपमा प्रस्तुत हुनपनि पर्नेहुन्छ । लकडाउन सफल पार्नको लागि सरकार अब कठोर साथ आउँछ ।”

सिडिओ दाहालले लकडाउन आदेश उल्लंघन गरेकै कारण फिलिपिन्सले गोली ठोकेको र भारतले पनि ड्यांग ड्यांग ठोकेको सुनाउँदै नेपालमा पनि अब त्यो विकल्प रहेको सुनाए । सिडिओ दाहालले लकडाउन पालना गराउनको लागि आफूले गोली ठोक्नेसम्मको आदेश पाएको सुनाए ।उनले भने,”मैले त्यो अधिकार पाएको छु । आदेश उल्लंघन गर्ने कसैलाई पनि छोड्दिन् ।”

त्यस्तै, उनले यो अवधिमा सवारी पास लिनेहरुको घुईँचो लाग्ने गरेको सुनाउँदै अब पास कसैले पनि नपाउने जिकिर गरे । उनले थपे,”व्यापारीलाई पास दिन्न । पासमा मलाई पत्रकारहरुले सताएका छन् । यो अवधिमा जनता टेलिभिजन नहेरेर पनि बाँच्छन् । किन टिभी हेर्नुपर्यो ? अब कठोर हुन्छु । एक्शन लिन्छु ।” यद्धपी उनले सुत्केरी, विरामीहरु र अत्यावश्य कामको लागि पास उपलब्ध गराउने विश्वास दिलाए ।

त्यस्तै, काठमाडौं उपत्यकाबाहिर जानको लागि कसैलाई पनि पास नदिने उनको जिकिर छ । दैनिक ज्यालादारी र मजदुरी गर्नेहरु कोही पनि भोकै नमर्ने बताउँदै उनीहरुको लागि सरकारले पर्याप्त खाद्यान्नको व्यवस्था गरेको पनि सिडिओ दाहालले विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्